शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा पहिलो साइलेज प्लान्ट सञ्चालनमा

आइतवार , चैत्र १५, २०८२

सिन्धुली,१५ चैत — कृषककेन्द्रित उत्पादनमुखी पूर्वाधार विकासको दिशामा सिन्धुली जिल्लाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । कमलामाई नगरपालिकाको सहकार्य तथा हेफर इन्टरनेशनल नेपालको लागत साझेदारीमा सञ्चालित ‘मिल्की वे परियोजना’ अन्तर्गत जिल्लाकै पहिलो साइलेज प्लान्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका–१ मा स्थापना गरिएको उक्त प्लान्टको उदघाटन आइतवार एक कार्यक्रमबीच सम्पन्न भएको हो ।

कमलामाई सामाजिक उद्यमी दुग्ध सहकारी संस्था लिमिटेड, कमलामाई नगरपालिका–४ को व्यवस्थापनमा स्थापना गरिएको यस प्लान्टले स्थानीय स्तरमा पशुपालन व्यवसायलाई आधुनिक र दिगो बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थिया े। त्यसैगरी सिड्स नेपालका अध्यक्ष दीपक घिमिरे, हेफर इन्टरनेशनलको मिल्की वे परियोजनाका प्रबन्धक डा. नारायण शर्मा, वडा नं. १ का अध्यक्ष नरेश गोले, पशु विकास शाखा प्रमुख डा. रोशन कोइराला, सूचना प्रविधि अधिकृत, सहकारीका अध्यक्ष गुणकुमारी घिमिरे लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका अवसरमा उपस्थित अतिथिहरूले प्लान्ट स्थापना सफलतापूर्वक सम्पन्न भएकोमा बधाई ज्ञापन गर्दै यसको दीर्घकालीन प्रभावबारे सकारात्मक धारणा व्यक्त गरेका थिए । उनीहरूले आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि तथा कृषकको आम्दानी अभिवृद्धिमा यस्ता परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नगर प्रमुख पोखरेलले आफ्नो सम्बोधनमा साइलेज प्लान्टको स्थापना कमलामाई नगरपालिकाका कृषकहरूका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । उनले पशुपालन व्यवसायलाई व्यवस्थित, व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले यस्ता पूर्वाधार अत्यावश्यक रहेको बताए। उनका अनुसार वर्षभरि गुणस्तरीय पशु आहार उपलब्ध गराउने व्यवस्थाले किसानको उत्पादन लागत घटाउने र आम्दानी वृद्धि गर्नेछ ।

उनले साइलेज प्लान्टलाई केवल स्थानीय आवश्यकतामा सीमित नराखी जिल्लाभरिका कृषकका लागि नमूना परियोजनाका रूपमा विकास गर्ने लक्ष्य रहेको स्पष्ट पारे । “यो सिन्धुली जिल्लाकै पहिलो साइलेज उत्पादन केन्द्र हो,” उनले भने, “यसले अन्य स्थानमा समेत यस्ता परियोजना विस्तार गर्न प्रेरणा दिनेछ ।” साथै उनले कृषि तथा पशुपालन क्षेत्रमा आयआर्जन वृद्धि गर्ने कार्यक्रमहरूलाई आगामी दिनमा पनि उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

साइलेज उत्पादन प्रविधिले हरियो घाँसलाई दीर्घकालसम्म सुरक्षित राखेर पशु आहारका रूपमा प्रयोग गर्न सकिने भएकाले यसले विशेष गरी सुख्खा मौसममा हुने आहार अभावको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । यसबाट दुग्ध उत्पादनमा निरन्तरता आउने र गुणस्तर सुधार हुने विश्वास गरिएको छ ।

स्थानीय कृषकहरूका लागि नयाँ सम्भावनाको ढोका खोल्ने यस परियोजनाले कृषि क्षेत्रमा आधुनिकीकरण, व्यावसायीकरण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण टेवा पु¥याउने सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया