शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

निजी क्षेत्रको आवाजः सहज कर र स्वच्छ प्रतिस्पर्धाको माग

शनिवार , चैत्र १४, २०८२

सिन्धुली,१४ चैत— सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा शनिबार एक महत्वपूर्ण स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । साथै नेउवा महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार तेवानी, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायत विभिन्न प्रदेशका प्रतिनिधि, महासंघका कार्यकारिणी सदस्य तथा २९ जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष अर्जुन कुमार श्रेष्ठले निजी क्षेत्र सरकारसँग सहकार्य गर्न सदैव तयार रहेको स्पष्ट पार्नुभयो। उहाँले व्यवसाय सञ्चालनका क्रममा स्वस्थ प्रतिस्पर्धा सुनिश्चित हुनुपर्नेमा जोड दिँदै घुसपैठ र अनियमितता अन्त्य हुनुपर्ने बताए । “हामी घरमै बसेर सहज रूपमा कर तिर्न चाहन्छौं, कर तिर्न तयार छौं, तर प्रक्रिया सरल र पारदर्शी हुनुपर्छ,” उनको भनाइ थियो ।

त्यसैगरी, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी र महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवालले राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । कटुवालले बदलिँदो परिस्थितिमा निजी क्षेत्र पनि रूपान्तरण भएर सरकारसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर ।

लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले समग्र आर्थिक अवस्थालाई सुधारतर्फ उन्मुख रहेको उल्लेख गर्दै निजी क्षेत्रको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए । मधेश प्रदेशका अध्यक्ष अशोक तेवानीले नेपालको आर्थिक तथा राजनीतिक इतिहासमा महत्वपूर्ण परिवर्तन देखिएको उल्लेख गर्दै सेयर बजारमा आएको सुधारले निजी क्षेत्रलाई उत्साहित बनाएको धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि दिल सुन्दर श्रेष्ठले सीमावर्ती क्षेत्रमा भइरहेको चोरी निकासीका कारण आन्तरिक व्यापारमा नकारात्मक असर परेको बताए । उनले नयाँ सरकारले यस विषयमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । साथै व्यापार व्यवसायलाई असर पार्ने खालका अनावश्यक राजस्व अनुसन्धान खारेज गरेकोमा सरकारप्रति खुसी व्यक्त गर्दै निजी क्षेत्रलाई सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमले निजी क्षेत्र र सरकारबीच सहकार्यको आवश्यकता पुनः उजागर गर्दै आर्थिक समृद्धिका लागि स्पष्ट नीति र पारदर्शी प्रणालीको खाँचो औंल्याएको छ ।

प्रतिक्रिया