काठमाडौँ,११ चैत — खाना पकाउने एलपी ग्यासको आयात उल्लेख्य रूपमा बढ्दासमेत उपभोक्ताले बजारमा सहज रूपमा ग्यास पाउन नसकेको अवस्था कायम छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को माघसम्म तीन लाख २१ हजार ८९ मेट्रिक टन ग्यास आयात भएकोमा फागुन महिनामा मात्र तीन लाख ७२ हजार २८१ मेट्रिक टन ग्यास आयात भएको देखिएको छ । एक महिनामै करिब ५१ हजार मेट्रिक टनले आयात वृद्धि भएको हो, जुन परिमाणले झण्डै ३६ लाख ५० हजार ग्यास सिलिन्डर भर्न सकिने अनुमान गरिएको छ ।
यति ठूलो परिमाणमा आयात वृद्धि भए पनि बजारमा ग्यास अभाव किन कायमै छ भन्ने प्रश्न उठ्न थालेको छ । सरोकारवालाहरूका अनुसार यसको प्रमुख कारण उपभोक्तामा बढ्दो सञ्चय प्रवृत्ति हो । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार अभाव हुने आशंकाले धेरै घरधुरीले आवश्यकताभन्दा बढी ग्यास भरेर राख्न थालेपछि कृत्रिम माग सिर्जना भएको छ । “आयात बढेकाले वास्तविक अभाव घट्दो क्रममा छ, तर मानिसहरूले घरमै धेरै सिलिन्डर थुपार्दा बजारमा तत्काल आपूर्ति अपुग देखिएको हो,” उनले भने ।
हाल बजारमा करिब एक करोड ४२ लाख ग्यास सिलिन्डर चलनचल्तीमा रहेका छन् । उच्च आय भएका परिवारहरूमा एकै घरमा चारदेखि पाँचवटा सिलिन्डरसम्म राख्ने प्रवृत्ति बढ्दो छ । यसले सीमित स्रोतमा अतिरिक्त दबाब सिर्जना गरेको छ ।
नेपाल आयल निगमले पनि आपूर्ति नियमित रहेको स्पष्ट पारेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले मासिक रूपमा ४५ हजारदेखि ४९ हजार मेट्रिक टनसम्मको माग रहने सामान्य अवस्थाको तुलनामा पछिल्लो समय माग अस्वाभाविक रूपमा बढेको बताए । पश्चिम एसियामा जारी द्वन्द्वका कारण सम्भावित आपूर्ति संकटको त्रासले बजारमा ग्यासको माग ह्वात्तै बढेको उनको भनाइ छ ।
निगमले २८ फागुनदेखि आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था लागू गरेपछि केही हदसम्म आपूर्ति व्यवस्थापनमा सहजता आएको दाबी गरिएको छ । अत्यावश्यक प्रयोगकर्ताले मात्र आधा सिलिन्डर लिएर फर्कने र अन्यले पालो कुर्ने प्रवृत्ति देखिएको छ । तर साना होटल, रेस्टुरेन्ट तथा होस्टेलहरूमा भने अभाव अझै समाधान हुन सकेको छैन ।
यसैबीच, भारतबाट आयात हुने ग्यासको मूल्यसमेत बढेको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार प्रतिसिलिन्डर २१६ रुपैयाँले वृद्धि भएको छ । तर उपभोक्ताको हितलाई ध्यानमा राख्दै नेपालमा हाल मूल्य वृद्धि नगरी प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँमै बिक्री भइरहेको निगमले जनाएको छ ।
सरकार र निगमले अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई आग्रह गर्दै आपूर्ति क्रमशः सहज हुने विश्वास व्यक्त गरेका छन् ।