शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हाटबजारमा कर असुलीले साना किसान मारमा

आइतवार , चैत्र १, २०८२

सिन्धुली — सिन्धुलीका शनिबार र शुक्रबार लाग्ने हाटबजारमा कर असुलीले साना किसान तथा स्थानीय व्यापारी मारमा परेको गुनासो बढ्न थालेको छ । बिक्रीका लागि थोरै मात्रामा तरकारी, फलफूल तथा अन्य स्थानीय उत्पादन ल्याउने किसानबाट समेत कर उठाइँदा उनीहरूलाई आर्थिक भार परेको छ ।

हाटबजारमा करिब ५००–६०० रुपैयाँ बराबरको तरकारी, फलफूल तथा अन्य स्थानीय उत्पादन बिक्री गर्न ल्याउने किसानबाट पनि करिब ५० रुपैयाँसम्म कर असुल गर्ने गरिएको स्थानीय व्यापारीेले बताएका छन् । साना किसानले दैनिक उपभोगका लागि उत्पादन गरेको वस्तु बेच्न  ल्याउँदा पनि कर तिर्नुपर्ने अवस्था हुँदा उनीहरू निरुत्साहित हुन थालेको गुनासो छ ।

स्थानीय तहले हाटबजार व्यवस्थापनका नाममा हरेक वर्ष ठेक्का लगाएर कर उठाउने व्यवस्था गर्दै आएको छ । तर सो व्यवस्थापन अन्तर्गत साना किसान र ठूला व्यापारीबीच फरक नगरी कर असुल गर्दा समस्या बढेको छ । हाटबजार सामान्यतया किसानले आफ्नै उत्पादन उपभोक्तासम्म पु¥याउने सहज माध्यमका रूपमा लिइन्छ । तर सानो मात्रामा उत्पादन गरि बिक्री गर्न आउने किसानबाट पनि कर असुल गर्दा उनीहरूको आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

स्थानीय सरोकारवालाहरूका अनुसार कर असुली पूर्ण रूपमा गलत नभए पनि कसबाट कति कर लिने भन्ने स्पष्ट मापदण्ड आवश्यक छ । ठूला व्यापारी र व्यवसायीबाट कर उठाउनु उचित भए पनि थोरै मात्रामा सामान बिक्री गर्न आउने साना किसानबाट कर असुल गर्दा उनीहरूको मनोबल घट्ने र स्थानीय उत्पादन निरुत्साहित हुने चिन्ता व्यक्त गरिएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको भन्दै साना किसान तथा व्यापारीलाई सहज वातावरण बनाउनुपर्ने माग पनि उठ्न थालेको छ । हाटबजार व्यवस्थापनका नाममा अनावश्यक कर असुली नगरी साना किसानलाई प्रोत्साहन गर्ने खालको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिएको छ ।

प्रतिक्रिया