सिन्धुली — पछिल्ला केही दिनदेखि सिन्धुलीका विभिन्न बजार क्षेत्रमा खाना पकाउने ग्यास अभाव देखिएको भन्दै उपभोक्ताले गुनासो गर्न थालेका छन् । ग्यास आपूर्ति भइरहेको भए पनि बजारमा उपभोक्ताले ग्यास नपाएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
ग्यास लिन डिलर तथा पसलमा पुग्ने उपभोक्तालाई “ग्यास छैन” भन्दै फर्काइने गरेको गुनासो बढ्दो छ । तर सोही समयमा ग्यास ढुवानी हुने गाडी बजार क्षेत्रमा आइरहेको देखिनुले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुनसक्ने आशंका गरिएको छ ।
केही स्थानमा भने डिलरहरूले आफूले चिनेका वा पहुँच भएका व्यक्तिलाई मात्र ग्यास उपलब्ध गराउने गरेको आरोप पनि लागेको छ । सामान्य उपभोक्तालाई ग्यास नभएको भन्दै फर्काइने तर चिनजान वा पहुँच भएका व्यक्तिलाई भने सहजै ग्यास दिने गरिएको उपभोक्ताको गुनासो छ । यसले बजार व्यवस्थापनप्रति थप प्रश्न उठाएको छ।
व्यापारीहरूले ग्यासको मूल्य बढ्न सक्ने अनुमान गर्दै अहिले नै ग्यास लुकाएर राखेको हुनसक्ने चर्चा पनि बजारमा भइरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा देखिएको तनाव र सम्भावित युद्धको प्रभावका कारण ग्यासको मूल्य बढ्न सक्ने आशंकामा केही डिलरहरूले बिक्री नगरी भण्डारण गरिरहेको आशंका गरिएको हो ।
यसरी बजारमा ग्यासको अभाव देखिँदा दैनिक उपभोगमा समस्या उत्पन्न भएको छ । धेरै घरपरिवार खाना पकाउन ग्यासमा निर्भर भएकाले उपभोक्ताले निकै सास्ती भोग्नुपरेको छ । कतिपयले ग्यास नपाएर वैकल्पिक रूपमा दाउरा वा अन्य इन्धन प्रयोग गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
बजारमा यस्तो अवस्था देखिँदा पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नभएको भन्दै प्रश्न उठ्न थालेको छ । नियमित बजार अनुगमनको अभावमा केही डिलरहरूले मनोमानी गर्न सक्ने अवस्था बनेको देखिएको छ ।उपभोक्ताहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, आपूर्ति व्यवस्थापन तथा सम्बन्धित निकायले तत्काल बजार अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । आपूर्ति भइरहेको ग्यास बजारमा किन उपलब्ध नभएको भन्ने विषयमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।
उपभोक्ताले बजारको वास्तविक अवस्था बुझ्न र कृत्रिम अभाव भए/नभएकोबारे छानबिन गर्न सम्बन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने माग गरेका छन् । आपूर्ति भइरहेको ग्यास बजारमा सहज रूपमा उपलब्ध गराउन र उपभोक्तालाई अनावश्यक सास्तीबाट बचाउन सम्बन्धित निकायको सक्रियता आवश्यक देखिएको छ ।