शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाईमा ‘श्रमको सम्मान’ अभियान, रोजगार अभिमुखीकरण सम्पन्न

मंगलवार , फाल्गुण १२, २०८२


सिन्धुली,१२ पागुन –  कमलामाई नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमअन्तर्गत ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार सम्पन्न उक्त कार्यक्रम कमलामाई नगरपालिकाकी उपप्रमुख श्री मञ्जु देवकोटाज्यूको अध्यक्षतामा भएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री किरण निधि तिवारी, प्रशासन शाखा प्रमुख, वडा सदस्यहरू, वडा सचिवहरू तथा सूचना प्रविधि शाखाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेरोजगारी समस्या न्यूनीकरण, मर्यादित श्रमको प्रवद्र्धन तथा रोजगारी सिर्जनाका लागि स्थानीय तहबीच सहकार्य र समन्वयको आवश्यकता विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, रोजगारीको हक सुनिश्चित गर्न आवेदन दर्ता प्रक्रिया, सूचीकृत गर्ने विधि र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपायबारे प्रस्तुति समेत गरिएको थियो । प्रशासन शाखा प्रमुख श्री सागर कुमार ढकालज्यूले प्रस्तुति दिँदै बेरोजगार नागरिकको पहिचान, तथ्यांक संकलन र प्रक्रियागत रूपमा रोजगारीमा आबद्ध गराउने विषयमा प्रष्ट पारेका थिए ।

उपप्रमुख देवकोटाले श्रमको गरिमा र सम्मानबारे जोड दिँदै श्रम कसैको पनि सानो वा ठूलो नहुने बताइन  । “हरेक नागरिकले आफ्नो पसिनाको उचित सम्मान पाउनुपर्छ। हाम्रो मुख्य उद्देश्य भनेको नगरपालिकाभित्र रहेका बेरोजगार जनशक्तिलाई पहिचान गरी उनीहरूलाई प्रक्रियागत रूपमा रोजगारीको हकसँग जोड्नु हो,” उनले भनिन । वडा तहदेखि नै आवेदन दर्ता र समन्वयलाई प्रभावकारी बनाउन सके मात्र ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराले सार्थकता पाउने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी वडा सदस्य तथा सचिवहरूले स्थानीय तहमा रोजगारी व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सूचना प्रविधि शाखाका प्रतिनिधिहरूले डिजिटल प्रणालीमार्फत आवेदन दर्ता र तथ्यांक व्यवस्थापनलाई सहज बनाउने विषयमा जानकारी गराएका थिए ।

नगरपालिकाले स्थानीय स्तरमै मर्यादित रोजगारीका अवसर सिर्जना गरी नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको जनाएको छ । अभिमुखीकरण कार्यक्रमले रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुने कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया