सिन्धुली,०४ फागुन — वि.पी. राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट चेकपोइन्टमा प्रहरीले बिना बिलबिजक अवैध रुपमा ओसारपसार हुँदै गरेको ठूलो परिमाणका कपडा बरामद गरेको छ । चेकिङ टोलीले आइतवार दिउँसो करिब १ बजे सवारी जाँच गर्ने क्रममा काठमाडौंबाट सोलुतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७२२० नम्बरको डबल क्याप बोलेरोबाट उक्त सामान फेला पारेको हो ।
प्रहरीका अनुसार उक्त बोलेरो उदयपुरको कटारी नगरपालिका–९ बस्ने २५ वर्षीय चालक प्रेमबहादुर सार्कीले चलाएका थिए । सवारी साधनमा बोरा भित्र लुकाई–छिपाई राखिएको अवस्थामा विभिन्न ब्रान्डका ज्याकेट तथा ट्राउजर बिना बिलबिजक भेटिएपछि बोलेरोसहित चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याएर अनुसन्धान सुरु गरिएको थियो ।
बरामद सामानमा ८१ पिस कोलम्बिया ज्याकेट, ८७ पिस फेसन स्पोर्ट ज्याकेट, ४८९ पिस कोलम्बिया ट्याक, १८ पिस महिला कालो ट्राउजर र २६२ पिस फेसन स्पोर्ट ट्राउजर रहेको प्रहरीले जनाएको छ। ती सबै सामान तथा सवारी साधनको अनुमानित कुल मूल्य ३६ लाख १३ हजार ७ सय रुपैयाँ रहेको छ, जसमा बोलेरोको मात्र मूल्य २६ लाख रुपैयाँ आँकलन गरिएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि थप कानुनी प्रक्रिया तथा कारबाहीका लागि सोमवार सम्पूर्ण सामान, सवारी साधन र चालकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाएको छ । राजस्व छलीको आशंकामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
चेकपोइन्टमा नियमित सवारी जाँच कडाइ गरिएसँगै पछिल्लो समय अवैध सामान ओसारपसारका घटनामा कमी आएको बताउँदै प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा बनाइने जनाएको छ ।