सिन्धुली, २९ माघ– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरी नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि अनुसार कार्यसम्पादन सूचक मूल्यांकन गरी प्राप्तांक सार्वजनिक गरेको छ ।
आयोगको नतिजा अनुसार सिन्धुली जिल्लाका नौ स्थानीय तह मध्ये पहिलो नम्बरमा कमलामाई नगरपालिका रहन सफल भएको छ । कमलामाईले ७१.३४ अंक पाएको छ । दोस्रो स्थानमा फिक्कल गाउँपालिका छ । उसले ६९.६२ अंक पाएको छ । तेस्रो स्थानमा रहेको दुधौली नगरपालिकाले ६४.५४ अंक पाएको छ ।
त्यस्तै घ्याङलेक गाउँपालिकाले ६४.२१, तिनपाटनले ५७.८०, सुनकोशी गाउँपालिकाले ५७.८१, गोलन्जोरले ५५.१६, हरिहरपुरगढीले ५४.७७ र मरिण गाउँपालिकाले सबैभन्दा कम ५१.७५ अंक प्राप्त गरेको छ ।
आयोगले स्थानीय तहका हकमा कुल १७ सूचक आधार मानेर अंक दिने गर्छ । आयोगका अनुसार यो अंकमा चित्त नबुझे आयोगमा आधार र प्रमाण सहित पुनरावलोकनका लागि निवेदन दिन सकिन्छ । यस्तो मूल्यांकन आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुन्छ । धेरै अंक ल्याउने स्थानीय तहले बढी अनुदान पाउने गर्छन् ।
गाउँ–गाउँमा केन्द्रको सिंहदरवार मात्रै पुगेन त्यसको साथमा केन्द्रका विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता पनि पुग्यो । जसका कारण नागरिकको बीचमा पुगेको स्थानीय सरकारले शुसासन, पारदर्शिता र आर्थिक मितब्यीता देखाउन सकिरहेको अवस्था छैन ।
स्थानीय सरकारलाई कानुन निर्माणदेखि विद्यालय व्यवस्थापन, कृषि तथा पशु विकास देखि सुशासन कायम गर्ने सम्मको जिम्मेवारी दिइएको छ । संविधानले नै स्थानीय सरकारको अधिकार व्यापक बढाए पनि कार्यक्षमता भने बढ्न सकेको छैन । जस्का कारण आयोगको मुल्याङकनमा कार्यसम्पादनमा सिन्धुलीका स्थानीय तह कमजोर देखिएका छन ।