शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली कपडा तथा जुत्ताचप्पल व्यवसायीको साधारण सभा

मंगलवार , माघ २७, २०८२

सिन्धुली,२७ माघ – सिन्धुली कपडा रेडिमेड तथा जुत्ताचप्पल व्यवसायी संघको वार्षिक साधारण सभा मंगलबार सिन्धुलीमा सम्पन्न भएको छ । स्थानीय व्यवसायको संरक्षण, प्रवद्र्धन र सुदृढीकरणलाई केन्द्रमा राख्दै सम्पन्न साधारण सभाले बजार व्यवस्थापन, व्यवसायिक मर्यादा र आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

सिन्धुली उद्योग वाणिज्य संद्दका वस्तुगत उपाध्यक्ष रामकुमार राजभण्डारीको प्रमुख अतिथिमा भएको साधारण्भ सभको अध्यक्षता कपडा रेडिमेड तथा जुत्ताचप्पल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजभण्डारीले स्थानीय व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन व्यवसायीहरूबीच एकता अपरिहार्य रहेको बताए । उनले उपभोक्ताको भरोसा कायम राख्न गुणस्तरीय सामान, पारदर्शी मूल्य प्रणाली र व्यवसायिक नैतिकता मुख्य आधार भएको उल्लेख गर े। “स्थानीय बजार बलियो भए मात्र बाह्य बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ,” उनले भने ।

अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा संघले गरेका गतिविधि, सामना गर्नुपरेका चुनौती र आगामी कार्ययोजना सार्वजनिक गरे । उनले पछिल्लो समय बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, अव्यवस्थित मूल्य निर्धारण र आयातमुखी प्रवृत्तिले स्थानीय व्यवसायलाई असर पारेको बताए । यस अवस्थाबाट बाहिर निस्कन व्यवसायीहरू स्वयं जिम्मेवार र सचेत हुनुपर्ने उनको भनाइ थियो ।

साधारण सभामा सहभागी सदस्यहरूले व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या, उपभोक्ताको बदलिँदो व्यवहार, अनलाइन व्यापारको प्रभाव तथा सरकारी नीतिगत पक्षका विषयमा आ–आफ्ना धारणा राखेका थिए । विशेषगरी साना तथा मध्यम व्यवसायलाई टिकाइराख्न सहुलियतपूर्ण कर्जा, तालिम र नीतिगत सहयोग आवश्यक रहेको आवाज उठाइएको थियो ।

सभाले आगामी दिनमा व्यवसायीबीच नियमित अन्तरक्रिया कार्यक्रम, उपभोक्तामैत्री अभियान तथा व्यवसायिक क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, बजारमा एकरूपता कायम गर्न आचारसंहिता कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष श्रेष्ठले स्थानीय उद्योग र व्यापारलाई प्राथमिकता दिन सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए े। वार्षिक साधारण सभाले सिन्धुलीको कपडा तथा जुत्ताचप्पल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र दिगो बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रमको समापनमा सहभागीहरूले स्थानीय उद्योग र व्यापारलाई प्राथमिकता दिने संस्कार विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकाले। यस किसिमका कार्यक्रमहरूले सिन्धुलीको व्यवसायिक क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्दै समृद्ध स्थानीय अर्थतन्त्रतर्फ डो¥याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया