सिन्धुली,०८ माघ – जिल्लाको आर्थिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको सातौँ सिन्धुली महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि चल्दै आएको तयारी अब समापनतर्फ उन्मुख भएको आयोजकले जनाएको छ । महोत्सवको भोलि भव्य समारोहबीच औपचारिक उद्घाटन हुने भएको छ ।
महोत्सवको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले गर्ने कार्यक्रम तय भएको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिए । उदघाटन समारोहलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले बाजागाजा, झाँकी तथा विविध सांस्कृतिक प्रस्तुतिसहित भव्य र्याली निकालिने श्रेष्ठले जानकारी दिए । स्थानीय जातजाति, भाषा, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक र्यालीले सिंगो सिन्धुलीको विविधतालाई एकै स्थानमा प्रस्तुत गर्ने अपेक्षा गरिएको उनको भनाई छ ।
महोत्सव स्थलमा आवश्यक भौतिक पूर्वाधार निर्माण, मञ्च व्यवस्थापन, सुरक्षा व्यवस्था, विद्युत्, खानेपानी, सरसफाइ तथा ट्राफिक व्यवस्थापनलगायतका काम तीव्र गतिमा अघि बढिरहेका छन् । आयोजकका अनुसार अधिकांश संरचनात्मक काम सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा रहेको छ । महोत्सवलाई व्यवस्थित, सुरक्षित र दर्शकमैत्री बनाउन विभिन्न उपसमिति सक्रिय रूपमा परिचालित छन् ।
यस वर्षको सिन्धुली महोत्सवमा कुल ३१५ वटा स्टल रहनेछन् । तीमध्ये उल्लेख्य संख्यामा स्थानीय उत्पादन प्रवद्र्धनका लागि छुट्याइएका स्टलहरू रहने आयोजकले जनाएको छ । विशेषगरी कृषि उपज, घरेलु तथा साना उद्योगका सामग्री, हस्तकला, जडीबुटी, स्थानीय खाद्य परिकार, अल्लो, ढाका, जुनारजन्य उत्पादनलगायत सिन्धुलीका पहिचान बोकेका वस्तुहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् । स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय उत्पादकका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकको भनाइ छ ।
महोत्सवले स्थानीय किसान, साना उद्यमी र व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ । आफ्नै उत्पादनलाई एउटै छानामुनि प्रदर्शन गर्ने अवसर पाउँदा स्थानीय उत्पादक उत्साहित देखिएका छन् । यसले उत्पादन–बजारको दूरी घटाउनुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउने विश्वास लिइएको छ । साथै, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले नवप्रवर्तन र स्टार्टअपसम्बन्धी सामग्रीसमेत समेटिने जनाइएको छ ।
सिन्धुली महोत्सवलाई केवल व्यापारिक मेलामा सीमित नराखी सांस्कृतिक उत्सवको रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ । त्यसका लागि महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ । लोकदोहोरी, सांस्कृतिक नृत्य, आधुनिक संगीत, बाल तथा युवा लक्षित कार्यक्रम, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरूले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।
पर्यटन प्रवद्र्धन पनि महोत्सवको प्रमुख उद्देश्यका रूपमा रहेको छ। सिन्धुलीको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारका लागि विशेष स्टल तथा सूचना कक्ष राखिनेछ। महोत्सवमार्फत सिन्धुलीलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ ।
आयोजक समितिले महोत्सव सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा सर्वसाधारणसँग सहकार्य गरिरहेको जनाएको छ। सुरक्षा व्यवस्था चुस्त राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिनेछ। साथै, आपतकालीन स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ ।
आयोजकले सिन्धुलीवासीसहित छिमेकी जिल्लाका सर्वसाधारणलाई महोत्सवमा उपस्थित भई स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेको छ । सातौँ संस्करणको यो महोत्सवले सिन्धुलीको आर्थिक गतिविधि बढाउनुका साथै जिल्लाको पहिचानलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ ।