सिन्धुली,०३ माघ– जिल्लाको आर्थिक गतिविधि विस्तार, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको सिन्धुली महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकका अनुसार महोत्सवको करिब ७० प्रतिशत तयारी पूरा भइसकेको छ भने बाँकी काम तोकिएको समयभित्र सम्पन्न गरिनेछ ।
आउँदो माघ ९ गतेदेखि सुरु हुने महोत्सव कमलामाई नगरपालिका–६ स्थित खम्बेचौर मा ११ दिनसम्म सञ्चालन हुनेछ । महोत्सव सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिका को संयुक्त आयोजनामा हुन लागेको हो । संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार स्टल व्यवस्थापन, मञ्च निर्माण, विद्युत्, खानेपानी, सुरक्षा र सरसफाइका मुख्य कामहरू शुक्रबारसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेका छन् ।
महोत्सव केवल मनोरञ्जनमा सीमित नरही जिल्लाको अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ । विगतका वर्षहरूमा महोत्सव अवधिभर होटल, यातायात, खुद्रा व्यापार र कृषि उपजको बिक्रीमा उल्लेख्य वृद्धि देखिएको तथ्य श्रेष्ठ बताउँछन् । यस वर्ष पनि स्थानीय कृषक, घरेलु तथा साना उद्योगीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको उनले बताए ।
महोत्सवमा कृषि उपज, घरेलु तथा साना उद्योगका उत्पादन, हस्तकला सामग्री, स्थानीय परिकार र पर्यटन प्रवद्र्धन सामग्रीको प्रदर्शनी रहनेछ। साथै राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, बाल उद्यान र विभिन्न प्रतियोगिताले दर्शकको आकर्षण बढाउने आयोजकको तयारी छ । यस्ता गतिविधिले स्थानीय संस्कृति संरक्षणमा टेवा पुग्नुका साथै नयाँ पुस्तालाई आफ्नो पहिचानबारे जानकारी गराउने अपेक्षा गरिएको छ ।
प्रवेश शुल्क सर्वसाधारणका लागि ६० रुपैयाँ, विद्यार्थी तथा एकल महिलाका लागि परिचयपत्रसाथमा लिएर आएमा ४० रुपैयाँ तोकिएको छ । पूर्ण अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने संघका सदस्यहरूका लागि निःशुल्क सदस्यता पास उपलब्ध गराने आयोजकले जनाएको छ । आयोजकका अनुसार करिब दुई लाख दर्शक महोत्सव अवलोकन अनुमान गरिएको छ ।
यद्यपि, महोत्सव सफल बनाउन भीड व्यवस्थापन, सुरक्षा, सरसफाइ र ट्राफिक व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छन् । विगतमा देखिएका कमजोरीबाट पाठ सिक्दै यस वर्ष थप व्यवस्थित र सुरक्षित महोत्सव आयोजना गर्ने तयारी गरिएको अध्यक्ष श्रेठले बताए ।
समग्रमा, सिन्धुली महोत्सव २०८२ ले जिल्लाको आर्थिक गतिविधि विस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र सांस्कृतिक पहिचान निर्माणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ । महोत्सवलाई निरन्तर सुधार र व्यावसायिक व्यवस्थापनसँग जोड्न सके सिन्धुलीको समग्र विकासमा यसले महत्वपूर्ण योगदान पु¥याउने विश्लेषकहरूको भनाइ छ ।