शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली फर्निचर व्यवसायी संघको दशौँ साधारण सभा सम्पन्न

शनिवार , पौष १२, २०८२

सिन्धुली,१२ पुस – सिन्धुली फर्निचर तथा फर्निसिङ व्यवसायी संघको दशौँ वार्षिक साधारण सभा कमलामाई नगरपालिका–५ स्थित संगमचोकमा रहेको संघको कार्यालयमा सम्पन्न भएको छ । व्यवसायीहरूको हकहित, पेशागत एकता र व्यवसायिक सुदृढीकरणलाई केन्द्रमा राख्दै आयोजना गरिएको साधारण सभामा जिल्लाभरका फर्निचर व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष कुलबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय सदस्य रुद्रबहादुर खड्का प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। यस्तै, उद्योग वाणिज्य संघ सिन्धुलीका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, वस्तुगत उपाध्यक्ष रामकुमार राजभण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी संघका उपाध्यक्ष तुलबहादुर गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हितलाल श्रेष्ठलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। संस्थापक अध्यक्ष तेजबहादुर राणाको समेत उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको आयोजकले जनाएको छ ।

कार्यक्रमको औपचारिक सञ्चालन संस्थाका सचिव कुलबहादुर थापाले गर्नुभएको थियो भने उपाध्यक्ष टंकबहादुर कार्कीले सहभागी अतिथिहरूलाई स्वागत मन्तव्य राख्नुभएको थियो । साधारण सभामा संस्थाको आर्थिक अवस्था, विगतका गतिविधि तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो । कोषाध्यक्ष शाह आलम साफीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि सहभागीहरूले सुझाव तथा धारणा राखेका थिए ।

साधारण सभामा बोल्ने वक्ताहरूले काठजन्य उद्योगसँग सम्बन्धित नीति, कच्चा पदार्थको उपलब्धता, सामुदायिक वनसँग सहकार्य तथा व्यवसायीमैत्री वातावरण निर्माणमा जोड दिएका थिए । व्यवसायीहरूबीच आपसी सहकार्य र एकतामार्फत जिल्लाको फर्निचर उद्योगलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा संस्थाले साधारण सभामा सहभागी सम्पूर्ण अतिथि तथा व्यवसायीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया