शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नमुना बहुउद्देश्यीय सहकारीको १२औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रवार , पौष ११, २०८२

सिन्धुली,११ पुस – नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष खडानन्द तिमलसिनाको अध्यक्षतामा सम्पन्न साधारण सभाको उदघाटन संस्थाका जेष्ठ सदस्य जयमान तामाङले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष लालकाजी श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने सचिव सिताराम पहाडीले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिऐ ।

प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको आर्थिक वर्ष २०८१/०८२ मा सेयर पूँजी ८८ लाख ५७ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यसैगरी बचत संकलन ६ करोड ३ लाख ९६ हजार ८३८ रुपैयाँ पुगेको छ भने वार्षिक कारोबार ११ करोड ८९ लाख ६१ हजार ७०२ रुपैयाँ पुर्‍याउन संस्था सफल भएको जनाएको छ । संस्थाको जगेडा कोष तथा अन्य कोषहरू गरी जम्मा २ करोड ३६ लाख ८३ हजार ४६ रुपैयाँ रहेको विवरण सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाले अन्य सहकारीहरूको तुलनामा कोष हिसाबका आधारमा नमुना बहुउद्देश्यीय सहकारी जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा स्थापित हुन सफल भएको बताए ।

साधारण सभामा असल ऋणी सम्मान अन्तर्गत बाख्रापालन व्यवसायका लागि लिएको ऋण सदुपयोग गरी हाल ८० वटा बाख्रा पालन गर्न सफल कमलामाई नगरपालिका–१ गुराँसेस्थित लालीगुराँस बाख्रापालन समूहका किसान जितबहादुर भोलनलाई सम्मान गरिएको थियो । त्यसैगरी कमलामाई नगरपालिका–६ की अम्बिका बैदारलाई उत्कृष्ट बचतकर्ताको रूपमा सम्मान गरिएको थियो ।

साधारण सभाले सेयर सदस्यहरूलाई ३.१५ प्रतिशतका दरले सेयर लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै राष्ट्रिय सहकारी नियमन प्राधिकरण पुलचोक, ललितपुरले जारी गरेको निर्देशनअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि तोकिएका मापदण्ड पूर्ण रूपमा पालना गर्दै सबै सदस्यलाई एउटै हलमा राखी साधारण सभा सम्पन्न गरिएको जनाइएको छ ।

अध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा सुपरिवेक्षण समिति तथा ऋण उपसमितिबाट प्रस्तुत प्रतिवेदनहरू उपर विस्तृत छलफल गरी सुझावसहित पारित गरिएको थियो । साधारण सभामा उपस्थित सदस्यहरूलाई सञ्चालक समिति सदस्य सुवासना ध्वजुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव सिताराम पहाडीले गरेका थिए ।

प्रतिक्रिया