सिन्धुली,०३ – कहिले दरबारको चौरबाट खल्तीमा हालिएको एउटा बीउ, आज प्रविधिको सहारामा राजधानीका आधुनिक हाटबजार र भान्सासम्म आइपुगेको छ । करिब एक शताब्दी लामो इतिहास बोकेको सिन्धुलीको जुनार अहिले काठमाडौंमा ‘सिन्धुली जुनार मेला’मार्फत नयाँ पहिचानसहित प्रस्तुत गरिएको छ । साताव्यापी मेलाको पाँचौं संस्करण बिहिवारदेखि काठमाडौंमा सुरु भएसँगै रैथाने फलको प्रवद्र्धनमा प्रविधि र कथाको सुन्दर संयोजन देखिएको छ ।
स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा सुरु भएको मेलाले सिन्धुलीको जुनारलाई केवल फलको रूपमा मात्र होइन, एक ब्राण्ड र सांस्कृतिक सम्पदाका रूपमा उभ्याउने प्रयास गरेको छ । आयोजकका अनुसार मेलाको उद्देश्य किसानको पसिनासँगै उत्पादनको कथा उपभोक्तासम्म पुर्याउनु हो । त्यसकै उदाहरणका रूपमा यस वर्ष जुनारका प्याकेटमा क्युआर कोड राखिएको छ । ग्राहकले मोबाइलबाट क्युआर कोड स्क्यान गरेपछि जुनार कुन बगैँचामा फलेको, कुन किसानले उत्पादन गरेको र कहिले टिपिएको हो भन्ने विवरण सजिलै हेर्न सक्छन् ।
मेलाको आयोजना काठमाडौंका विभिन्न स्थानमा गरिएको छ । पुस ३ र ४ गते कुपण्डोलस्थित साझा सहकारी, पुस ४ देखि ६ गतेसम्म धोबीघाट र पुस ८ गते भनिमण्डल हाटबजारमा मेला सञ्चालन हुने आयोजकले जनाएको छ । एउटै स्थानमा सीमित नराखी शहरका फरक–फरक केन्द्रमा मेला पुर्याइनुले उपभोक्तासँग प्रत्यक्ष संवाद बढाउने अपेक्षा गरिएको छ ।
यस वर्षको मेलामा जुनारलाई परम्परागत फलको रूपमा मात्र होइन, परिकारका रूपमा पनि नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ । जुनारबाट बनेका केक, आइसक्रिम, सलाद, तातो जुसजस्ता परिकारले विशेष आकर्षण थपेको छ । आयोजकका अनुसार यसले जुनारको उपयोगिता बढाउनुका साथै युवा पुस्तालाई समेत आकर्षित गर्ने लक्ष्य राखिएको छ ।
सिर्जनशील कृषि फर्मका सञ्चालक योगेन्द्र थापाका अनुसार विगत पाँच वर्षदेखि काठमाडौंमा निरन्तर हुँदै आएका यस्ता मेलाले सिन्धुली जुनारलाई छुट्टै ब्राण्डको रूपमा स्थापित गरिसकेको छ । “पहिला जुनार मौसममा मात्र चिनिन्थ्यो, अहिले भने कथा, किसान र प्रविधिसँग जोडिएर वर्षैभरि चर्चा हुने उत्पादन बन्दैछ,” थापाले भने । उनका अनुसार उपभोक्ताले किसानको पहिचानसम्म थाहा पाउने व्यवस्थाले विश्वास बढाएको छ ।
प्रविधिको प्रयोग यहीँमा सीमित छैन । योञ्जन टेक्नोलोजी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा गोलन्जोर गाउँपालिकाका जुनार बगैँचा र रुखहरूको डिजिटल म्यापिङ गरिएको छ । यसले उत्पादनको पूर्वानुमान, बजार व्यवस्थापन र आपूर्ति शृंखला सुधारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । आयोजकहरूका अनुसार यस प्रकारको डिजिटल अभिलेखले किसानलाई पनि आफ्नो उत्पादनको मूल्य निर्धारणमा सघाउनेछ ।
सिन्धुली जुनारको इतिहास आफैंमा रोचक छ । वि.सं. १९८५ तिर सिन्धुलीका कहरसिंह हायु मुद्दाको सिलसिलामा काठमाडौं आउँदा तत्कालीन मुख्तियार भीमशमशेरको दरबार पुगेका थिए । दरबारमा देखेको रसिलो फल खान नपाए पनि अरूले खाएर फालेपछि त्यसको बीउ टिपेर उनले खल्तीमा राखे । त्यही बीउ सिन्धुली पुर्याएर रोपिएको थियो । त्यहीँबाट सुरु भएको जुनार खेती आज करिब एक शताब्दीपछि राजधानीमा ब्राण्ड बनेर उभिएको छ ।
कहरसिंहले दरबारको चौरबाट गोजीमा हालेर लगेको बीउले अहिले प्रविधिको काँध चढेको छ । किसानको बारीदेखि उपभोक्ताको मोबाइल स्क्रिनसम्म पुगेको यो यात्रा केवल कृषि उत्पादनको कथा मात्र होइन, ग्रामीण अर्थतन्त्र, पहिचान र सम्भावनाको कथा पनि हो ।
आयोजकहरू भन्छन्, “सिन्धुली जुनार मेला केवल किनबेचको थलो होइन । यो किसान, उपभोक्ता र प्रविधिबीचको सेतु हो । रैथाने उत्पादनलाई आधुनिक बजारसँग जोड्दै आत्मनिर्भर कृषि अर्थतन्त्रतर्फ उन्मुख गराउने प्रयास हो ।” राजधानीमा सुरु भएको यो मेला अब देशका अन्य सहरसम्म विस्तार गर्ने तयारी पनि भइरहेको बताइएको छ ।
दरबारको चौरबाट सुरु भएको सिन्धुली जुनारको कथा आज डिजिटल हाटसम्म आइपुग्दा, यसले नेपाली कृषि उत्पादनको सम्भावना र आत्मविश्वासलाई पनि उजागर गरेको छ ।