शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनकोशी–मरिण बहुदेश्यीय परियोजना अनिश्चितताको भुमरीमा

सोमवार , मंसिर ८, २०८२

सिन्धुली०८ मंसिर,– बहुप्रतिक्षित सुनकोशी–मरिण बहुदेश्यीय आयोजना अन्तर्गत सुनकोशी नदीमा निर्माणाधीन बाँधस्थल हाल सुनसान बनेको छ । सरकारद्वारा ठेक्का तोडिएपछि आयोजनाको सम्पूर्ण निर्माण कार्य पूर्णरूपमा बन्द भएको छ, जसले राष्ट्रिय प्राथमिकतामा समावेश यो आयोजनाको भविष्य अन्योलमा परेको छ ।

ऊर्जा, सिँचाइ तथा बाढी नियन्त्रणका लागि रणनीतिक महत्व राख्ने यो आयोजना सरकारको गौरवको परियोजनामध्ये एक मानिन्थ्यो । तर ठेकेदार कम्पनीसँगको सम्झौता एकपक्षीय रूपमा अन्त्य गरिएसँगै साइटमा रहेका निर्माण सामग्री, उपकरण र श्रमिकहरू क्रमशः हटाइँदै गएका छन्। केही समयअघिसम्म निर्माण गतिविधिले गुलजार बनेको स्थल अहिले पूर्ण रूपमा सुनसान देखिन्छ ।

स्थानीय बासिन्दाहरूका अनुसार महिनौँदेखि काम रोकिनुका कारण उनीहरू निराश बनेका छन् । आयोजनाका कारण रोजगारीको अवसर पाएका मजदुरहरू बेरोजगार भएका छन् भने आयोजनासँग आशा जोडेर बसेका स्थानीय समुदायमा अन्योलता बढेको छ । “ठूलो आयोजना सुरु हुँदा विकासको आशा पलाएको थियो, तर अहिले सबै काम रोकिएको देख्दा दुःख लाग्छ,” एक स्थानीयले बताए ।

सरकारले ठेक्का तोड्नुको स्पष्ट कारण अझै सार्वजनिक रूपमा आएको छैन । तर स्रोतका अनुसार ठेकेदार कम्पनीले काममा अपेक्षित प्रगति गर्न नसक्नु, समयसीमा पटक–पटक सारिनु र आयोजनाको कुल लागत बढ्दै जानुले सरकारलाई यस्तो निर्णयमा पु¥याएको बुझिन्छ। यद्यपि आयोजना कहिले र कसरी पुनः सुरु हुन्छ भन्ने विषयमा सम्बन्धित निकायहरूले निश्चित कार्ययोजना सार्वजनिक गरेका छैनन् ।

विकास विज्ञहरूले राष्ट्रिय महत्वका परियोजनामा देखिने यस्ता अवरोधले देशको समग्र विकास योजनामै प्रतिकूल असर पर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार समयमै निर्णय, पारदर्शी प्रक्रिया र स्पष्ट कार्ययोजनाबिनाका ठेक्का रद्दका निर्णयले विकास आयोजना झन् ढिलासुस्तीमा फस्ने जोखिम बढाउँछ ।

सुनकोशी–मरिण आयोजना सम्पन्न भएमा मध्य नेपालका हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने, विद्युत् उत्पादनमा योगदान पुग्ने र बाढी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो । तर हालको अवस्था हेर्दा सरकारको उक्त लक्ष्यमा गम्भीर ढिलाइ हुने संकेत देखिएको छ ।

ठेक्का रद्दपछि आयोजना पुनःट्र्याकमा ल्याउने विषयमा सरकार मौन देखिएको बेला, स्थानीयदेखि विज्ञसम्म सबै पक्षले स्पष्ट रोडम्याप माग गरेका छन् । राष्ट्रिय गौरवको यो आयोजना कहिले गति लिन्छ भन्ने प्रश्न अहिले सार्वजनिक बहसको केन्द्रमा पुगेको छ ।

प्रतिक्रिया