शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

तिनकन्यामा जुनार महोत्सव, तीन दिनसम्म स्वाद र सम्भावनाको पर्व

शनिवार , मंसिर ६, २०८२

सिन्धुली,०६ मंसिर – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित तिनकन्यामा यस वर्ष पनि तीनदिने जुनार प्रवद्र्धन मेला आयोजना हुने भएको छ । ‘जुनारको राजधानी’को रूपमा परिचित सिन्धुलीमा स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यसहित आगामी मंसिर २३, २४ र २५ गते मेला सञ्चालन गरिने भएको हो ।

माझकुभिण्डे क्षेत्रलाई मेलास्थलका रूपमा चयन गरेर तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ । मेलालाई केवल उत्सवमा सीमित नराखी, किसानको सीप अभिवृद्धि, व्यावसायिक उत्पादन, प्रविधि हस्तान्तरण र बजार विस्तारसँग जोड्ने लक्ष्य राखिएको छ । गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार, सिन्धुलीको पहिचान बनेको जुनारलाई गुणस्तरीय तथा व्यवस्थित उत्पादनतर्फ उन्मुख गराउन यो मेला महत्वपूर्ण कदम हो ।

मेलामा जुनारखेतीमा देखिँदै आएका रोग तथा किराको समस्यामाथि विशेष चर्चा र समाधानका उपाय प्रस्तुत गरिनेछ । पछिल्ला वर्षहरूमा जुनारमा देखिएको रोग र किराको प्रकोपले किसानलाई चिन्तित बनाउँदै आएको छ । यही समस्यालाई केन्द्रमा राखी विज्ञसँग अन्तरक्रिया, प्राविधिक कक्षा र प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिने तयारी गरिएको आयोजकको भनाइ छ ।

जुनार उत्पादनलाई केवल कृषिमा सीमित नराखी स्थानीय अर्थतन्त्रको आधार बनाउने प्रयास मेलाको अर्को मुख्य उद्देश्य हो । मेलाबाट किसान र व्यापारीबीच प्रत्यक्ष सम्पर्क बढ्ने, बजारको पहुँच विस्तार हुने र उत्पादनको उचित मूल्य सुनिश्चिततामा सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र र सहकारीको सहभागिता रहनेछ, जसले कृषिमा त्रिपक्षीय सहकार्यको बाटो अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

स्थानीय किसानहरू मेलाप्रति उत्साहित छन् । उनीहरूका अनुसार जुनार पाक्ने समयमा बजारसम्म पहुँच पाउन कठिनाइ हुने र रोग–किरा नियन्त्रण ठूला चुनौती बनेका छन् । मेलाबाट यी समस्यामा समाधानका उपाय पाइने आशा किसानहरूले व्यक्त गरेका छन् । किसान निर्मला पुर्बछाने मगर भन्छिन्, “हामी किसानका लागि यो मेला ज्ञान, सीप र बजारसँग जोडिने अवसर हो । यसबाट हाम्रो समस्यामा सुनुवाइ हुने अपेक्षा छ ।”

मेला कृषिसँग मात्रै सीमित नहुने पनि आयोजकले बताएका छन् । आन्तरिक पर्यटकलाई लक्षित गरी स्थानीय संस्कृति, जनजीवन र भौगोलिक विशेषतालाई प्रवद्र्धन गर्ने कार्यक्रम पनि समावेश गरिनेछ । यसले सिन्धुलीलाई कृषि पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

गाउँपालिकाले मेलाको सफलताका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरिरहेको जनाएको छ । तयारी तीव्र गतिमा अघि बढाइएको र मेलालाई व्यवस्थित र परिणाममुखी बनाउन सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ । आयोजकको विश्वास छ—तिनकन्यामा हुने यो तीनदिने जुनार मेला सिन्धुलीको पहिचानलाई अझ मजबुत बनाउने माध्यम सावित हुनेछ ।

 

प्रतिक्रिया