सिन्धुली,२२ कात्तिक — कमलामाई नगरपालिका–४ ढुंग्रेबासमा रहेको कमलामाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०५६ साल चैत १० मा कृष्णकुमार कार्कीको अध्यक्षतामा स्थापनादेखिनै कृषिमा आधारित आर्थिक क्रियाकलापलाई अघि बढाउँदै आएको सहकारीले अहिले सदस्यलाई उत्पादन र व्यवसायमा जोड्दै दिगो आर्थिक श्रोत निर्माण गर्ने नयाँ रणनीति अगाडि सारेको छ ।
सभामा संस्थाका अध्यक्ष अम्बरदिप देवकोटाले प्रस्तुत वार्षिक प्रतिवेदनमार्फत सहकारीले ‘ताजा तरकारी–सजिलो भान्सा, स्वस्थ जीवनको राज’ भन्ने नारालाई व्यवहारमा उतार्ने लक्ष्य लिएको बताए । उनका अनुसार सहकारी अब उत्पादन, प्रशोधन र बजार व्यवस्थापनलाई एउटै श्रृंखलामा बाँध्दै उत्पादक र उपभोक्ताबीचको सेतुको रूपमा काम गर्ने तयारीमा छ ।
देवकोटाले भने, “हाम्रो उद्देश्य अब मात्र बचत–ऋणमा सीमित छैन, सदस्यलाई सिप, उत्पादन र व्यवसायमा उन्मुख बनाई स्थानीय स्तरमै रोजगारी र आम्दानी सिर्जना गर्ने सहकारी मोडेल निर्माण गर्नु हो ।”
२०५७ साल मा पहिलो अधिवेशन गरेको कमलामाई सहकारी हाल १,२९० सदस्यको संलग्नतामा सञ्चालन भइरहेको छ । अहिलेसम्मको वित्तीय प्रगति प्रस्तुत गर्दै अध्यक्ष देवकोटाले भने, “हाम्रो कुल पुँजी र दायित्व ९ करोड ५३ लाख ११ हजार २५५ रुपैयाँ पुगेको छ ।”
संस्थाको वित्तीय विवरणअनुसार हालसम्म सहकारीको सेयर पुँजी ६८ लाख ५५ हजार ५०० रुपैयाँ पुगेको छ । त्यसैगरी, मासिक बचत संकलन ७ करोड ७५ लाख ७८ हजार ४२२ रुपैयाँ रहेको छ भने कुल ऋण लगानी ७ करोड ५२ लाख ८१ हजार ७०२ रुपैयाँ पुगेको छ ।
सहकारीले चालु आर्थिक वर्षमा ९३ लाख ५४ हजार १९४ रुपैयाँ वार्षिक खर्च गरेको जनाएको छ । उक्त अवधिमा संस्थाले २० लाख २५ हजार १०२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा १८ लाख ८२ हजार २२० रुपैयाँ नाफा गरेको सहकारीले यस वर्ष २८ लाख ३२ हजार ८०० रुपैयाँ नाफा गर्ने लक्ष्य प्रस्तुत गरेको छ ।
सहकारीले कृषिजन्य उत्पादनमा संलग्न सदस्यका लागि ‘बजार ग्यारेन्टी योजना’ सुरु गर्ने बताएको छ । यसअन्तर्गत उत्पादन हुने तरकारी, अन्न, दुग्धजन्य वस्तु आदिको खरिद, प्रशोधन र बिक्रीमा संस्थाले प्रत्यक्ष संलग्नता जनाउनेछ ।
त्यसका लागि ढुंग्रेबासमा रहेको ताजा तरकारी उत्पादन समूहलाई सहकारीको अग्रणी व्यवसायिक इकाइका रूपमा सुदृढ बनाउने योजना पनि सभामा प्रस्तुत गरिएको छ ।
सभाले सहकारीको दीर्घकालीन लक्ष्यका रूपमा सदस्यको सीप विकास, आत्मनिर्भर उत्पादन प्रणाली र सामुदायिक उद्यमशिलतालाई प्राथमिकता दिने निर्णय गरेको छ । अध्यक्ष देवकोटाले भने, “सहकारीको शक्ति सदस्यमा छ । त्यसैले हामीले अब उत्पादनमुखी र व्यवसायमुखी कार्यक्रममार्फत सबै सदस्यलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं ।”
सभामा उपस्थित अतिथिहरूले कमलामाई सहकारीले ग्रामीण क्षेत्रका सदस्यको जीवनस्तरमा पु¥याएको प्रभावको प्रशंसा गर्दै ‘स्थानीय उत्पादनमा आधारित सहकारी मोडेलको उत्कृष्ट उदाहरण’का रूपमा यस संस्थालाई मूल्यांकन गरेका छन् ।
कमलामाई बहुउद्देश्यीय सहकारीको २८ वर्षे यात्रा अब बचत–ऋणबाट व्यवसाय–उत्पादनसम्मको रूपान्तरणको दिशामा अघि बढ्दैछ । जसले ढुंग्रेबासदेखि समग्र सिन्धुलीसम्मको स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा भर्ने अपेक्षा गरिएको छ ।