सिन्धुली,२० कात्तिक – सिन्धुली जिल्लामा जग्गाको वर्गीकरण कार्य स्थगित भएपछि करिब साढे तिन महिनादेखि कित्ताकाट र अंशबन्डा ठप्प छन् । यसका कारण जिल्ला नापी कार्यालय सुनसान बनेको छ । हिजोआज सेवाग्राहीको भीडले गजबजिने कार्यालयमा अहिले सन्नाटा छाएको छ ।
नापी कार्यालयका कर्मचारीहरू बिहान १० बजे उपस्थित भए पनि दिनभर सेवाग्राही नआएर बेलुकी फुर्सदिला हुँदै फर्कने गरेका छन् । कार्यालयमा प्रमुख, सर्भेक्षक र अमिनसहित २१ जना दरबन्दी भए पनि काम नहुँदा उनीहरू खाली हात बस्न बाध्य भएका छन् ।
नेपाल सरकारले करिब तीन वर्षअघि जिल्लाका नौ स्थानीय तहहरूलाई जग्गाको १० प्रकारको वर्गीकरणसहित नक्सा पठाउन निर्देशन दिएको थियो । तर, आजसम्म कुनै पनि स्थानीय तहले सो वर्गीकरण पठाउन सकेका छैनन् । अधिकांश स्थानीय तहले केवल आवासीय र कृषियोग्य दुई प्रकारको वर्गीकरण मात्र पठाए पनि त्यसले व्यवहारमा काम गर्न नसकेको नापी कार्यालयका निमित्त प्रमुख ध्रुव बखुन्छे बताउँछन् ।
यसबीच वर्षायामले रेखांकन कार्यसमेत रोकिएको छ । अहिले केवल सग्लो जग्गाको कारोबार मात्र भइरहेको छ , त्यो पनि मालपोत कार्यालयमार्फत । जसका कारण नापी कार्यालय लगभग निष्क्रिय बनेको छ ।
जग्गा कारोबार ठप्प हुँदा राजस्व संकलनमा पनि ठुलो असर परेको छ । प्रचलित व्यवस्थाअनुसार मालपोत कार्यालयमार्फत संकलित राजस्वको ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारलाई जाने प्रावधान छ । नायब सुब्बा रोहितकुमार कार्कीका अनुसार अहिले दैनिक आठदेखि दसवटा मात्र सग्लो जग्गा कारोबार हुने गरेको छ । यसले स्थानीय तहको आम्दानी घटाउनेसँगै सेवाग्राही पनि प्रभावित बनेका छन् ।
स्थानीय तहले चाँडै जग्गा वर्गीकरण कार्य सम्पन्न गरी पठाए मात्र नापी कार्यालय पुनः सक्रिय हुने अपेक्षा गरिएको छ । अहिलेको अवस्थामा न त सेवाग्राही सन्तुष्ट छन्, न त कर्मचारी व्यस्त । सिन्धुलीको नापी कार्यालय, जसले कहिल्यै खाली नदेखिएको, अहिले कामविहीन बनेको छ । विकास प्रशासनमा ढिलासुस्तीको अर्को उदाहरणका रूपमा ।