शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बेमौसमी वर्षाले सिन्धुलीका किसानको वर्षभरको पसिना पानीमा

मंगलवार , कार्तिक १८, २०८२

सिन्धुली,१८ कात्तिक – सिन्धुलीका किसान अहिले खेतबारीमै भिजेको धान सुकाउँदै र स्याहार्दै छन् । लगातारको झरीले खेतमै काटेर सुकाउन राखिएको धान पानीमा डुबेपछि उनीहरूलाई वर्षभरको पसिनाको जोहो गर्न धौ–धौ परेको छ । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावले बेमौसमी वर्षा गराउँदा जिल्लाभरका किसानको धानबालीमा ठूलो क्षति पुगेको छ ।

मौसम खुल्दै घाम लागेपछि किसान खेतमा दौडधुप गर्दै छन् । कमलामाई नगरपालिका–४ का किसान राजेन्द्र रायमाझी बिहानदेखि बेलुकीसम्म भिजेको धान पल्टाउँदै छन् । “भिजेको धान सुकाउन ओल्टाइपल्टाइ गर्दैछौं,” रायमाझ भन्छन्, “तर खान मिल्ने खालको के होला र ! पानीले भिजेपछि दाना फुलेर चिउरा जस्तै ढाडी सकिएको छ ।”

उनी भन्छन, “यो त हाम्रो वर्ष दिन खाने अन्न हो। भिजे पनि सुकाउनै पर्छ, नत्र त वर्षैपिच्छेको परिश्रम खेर जाने भयो ।” अझै पनि मौसम स्थिर नहुँदा किसानहरू चिन्तित छन् । उनीहरू आशा गर्छन,“ केही दिन घाम लागे सबै भिजेको धान सुकाएर भित्र्याउन सकिन्छ ।”

दुधौली नगरपालिका–४ का किसान नवराज बरालका अनुसार बेमौसमी वर्षाले किसानमाथि बज्रपात झरेको छ “रोपाइँ बेलामा पानी र मलको अभाव, भित्र्याउने बेला झरीको प्रकोप,” उनले भने, “किसानलाई सुख पाउने मौका कहिल्यै आउँदैन ।”

बरालले भिजेका खेतमा धान नष्ट हुन थालेको बताए । उनी भन्छन्, “धान उम्रिन थालेका छन् । अब त्यसलाई बेच्ने त परै जाओस्, खानै कठिन हुन्छ ।” उनका अनुसार अहिले तत्काल सरकारी राहत आवश्यक छ ।

कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीका अनुसार जिल्लाभर करिब एक हजार हेक्टरमा काटिसकेको धान पानीमा डुबेर क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । “दुधौली र कमलामाई नगरपालिकाबाट विवरण आउँ बाँकी छ, तर क्षति अपेक्षा भन्दा बढी देखिएको छ,” अधिकारीले भने ।

उनका अनुसार फिल्ड अनुगमन गर्दा दुधौलीका धेरै ठाउँमा खेतमै डुबेको धान उम्रन थालेको पाइएको छ । उनले भने, “अब बाँकी धान काट्न किसानलाई तीन दिन मौसमको अवस्था हेरेर मात्र काट्न सल्लाह दिइरहेका छौं ।”

सिन्धुलीका धेरै किसानले तिहार सकिएलगत्तै धान काट्न थालेका थिए । खेतमा धान पाकेर पहेंलपुर बनेपछि उनीहरूलाई चाडपर्वभन्दा पनि धान काट्नै हतारो थियो । तर वर्षाले त्यो मेहनतमा पानी खन्यायो ।

कमलाखुँज, मरिण र तीनपाटनजस्ता धान उत्पादनका प्रमुख क्षेत्रहरूमा बढी क्षति पुगेको कृषि कार्यालयको भनाइ छ । किसानहरूले खेतमै सुकाउन राखिएको धान भिजेर गन्हाउन थालेको बताउँदै तत्काल राहतको माग गरेका छन् ।

कमलामाईका किसान सीता देवी महतोका लागि यो वर्षको तिहार र छठ दुबै नीरस भए । उनी भन्छिन्, “भिजेको धानको स्याहारमा नै दिन बित्यो । नाचगान गर्ने मन भए पनि खेतमा दुःख छ ।” उनका अनुसार घरमा धान नपुगेपछिका सबै चाडपर्व हरितामय भएनन् ।

त्यसैगरी, गम्भिर खतिवडा भन्छ, “किसानको हातमा चाबी छैन, मौसमको भरमा बाँच्नुपर्छ । अब राहत र बीमा प्रणाली सुधार्नैपर्छ ।”

गत वर्ष सिन्धुलीमा १३ हजार ४४५ हेक्टरमा बर्षे धानखेती भएको र ५० हजार मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो । यस वर्ष १२ हजार ८६२ हेक्टरमा मात्र धानखेती भएको र हालसम्म आधा मात्र काटिएको कृषि कार्यालयले जनाएको छ । अधिकारीले भने, “यदि हावाहुरी र चिसो यस्तै रह्यो भने यस वर्षको उत्पादनमा कम्तीमा २० प्रतिशत घट्न सक्छ ।”

स्थानीय तहका प्रतिनिधिहरूले पनि क्षति मूल्यांकन गरेर केन्द्रमा पठाउने तयारी गरेका छन् । किसानको आर्थिक भार कम गर्नका लागि राहत प्याकेज र बीमा क्षतिपूर्ति तत्काल लागू गर्नुपर्ने उनीहरूको माग छ । झरी रोकिएर घाम लागे पनि किसानका मुहारमा मुस्कान फर्किएको छैन। खेतमा सुकाइएका धानका गुछाहरू अझै पानीको भिजाइ सहिरहेका छन् । मौसम र आशाको दुबै दोहोरो चोट खेप्दै सिन्धुलीका किसानले आफ्ना अन्नको रक्षाका लागि संघर्ष जारी राखेका छन । ”धान सुकाएर भित्र्याउँला कि फेरि अर्को झरीले बगाउँला,” उनीहरू भन्छन्, ‘अब हाम्रो भरोसा घाम र सरकार दुबैमा छ ।”

प्रतिक्रिया