सिन्धुली जिल्लाको गोलञ्जोर लगायतका क्षेत्रमा जुनारका फल एकपछि अर्को गर्दै कुहिँदै जाँदा किसानको अनुहारमा चिन्ता झल्किएको छ । जुनार जसले जिल्लाको पहिचान र किसानको आम्दानी दुवैलाई सघाएको छ । आज रोगको रहस्यसँग जुध्दै छ। रोगको कारण अझै स्पष्ट छैन, तर यसको प्रभाव गम्भीर र बहुआयामिक छ ।
स्थानीय किसानहरूका अनुसार बोटमा लटरम्म फलेका जुनार तल्लो भागबाट कुहिन थालेका छन्। कृषिविदहरूले प्रारम्भिक अध्ययनमा यसलाई ढुसीजन्य (फंगल) रोग हुन सक्ने अनुमान गरेका छन्, तर ठ्याक्कै कारण पत्ता लगाउन नमूना परीक्षण नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पठाइएको छ । तर समस्या यतिमै सीमित छैन । रोगको पहिचान र समाधानमा सरकारी ढिलासुस्तीले किसान थप मर्कामा परेका छन् । कृषि क्षेत्र वैज्ञानिक अनुसन्धानमा ढिलो चल्ने परिपाटीको अर्को उदाहरण यही हो ।
जुनार खेती गोलञ्जोर गाउँपालिकाको रतनचुरा, भुवनेश्वरी, डुडभञ्ज्याङ जस्ता वडाहरूमा किसानको मुख्य आम्दानी स्रोत हो । बोटमा फल फुल्दा किसानलाई उर्जाशील बनाउने जुन उत्साह थियो, अहिले निराशामा बदलिएको छ । हरेक बिहान किसानहरू झरेका कुहिएका फल उठाउँदै दुःख पोखिरहेका छन् । किसान लोकबहादुर आलेमगरको भनाइमा, “हामीले फलाएका जुनार बजार पुग्ने बेला कुहिन्छन्, आम्दानी घट्दै जान्छ ।” यो केवल व्यक्तिगत पीडा होइन , जिल्लाको कृषि अर्थतन्त्रको चेतावनी हो।
गोलञ्जोर गाउँपालिका र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले स्थलगत अध्ययन गरे पनि दीर्घकालीन दृष्टिकोण अझै अभावमा छ । यस्ता रोगहरू वार्षिक रूपमा दोहोरिन नदिनका लागि समन्वित अनुसन्धान, स्थानीय कृषि विस्तार सेवा सुदृढीकरण, र किसान प्रशिक्षण आवश्यक छन् ।
सरकार र प्रदेशस्तरीय निकायले केवल रोग नियन्त्रणमा होइन, फल भण्डारण, प्याकिङ र बजार व्यवस्थापनमा पनि ध्यान दिनु जरुरी छ। अन्यथा, रोग त रोकिएला, तर बजारको असन्तुलनले किसान फेरि घाटामा पुग्नेछ । रोग पहिचान र नियन्त्रणका कार्यक्रम कागजमै सीमित नहोस्। कृषि अनुसन्धान परिषद्, स्थानीय निकाय र किसानबीचको प्रत्यक्ष संवाद हुन जरुरी छ । यसले किसानमा विश्वास जगाउँछ र नीति स्थायित्व दिन्छ ।
जुनार केवल फल होइन, सिन्धुलीको पहिचान हो । यसलाई जोगाउन समयमै वैज्ञानिक पहिचान, प्रभावकारी उपचार र बजार सन्तुलन आवश्यक छ । रोगको रहस्य सुल्झिएन भने यो केवल गोलञ्जोरको होइन । सिन्धुलीको कृषि भविष्यको संकट बन्न सक्छ । अब प्रश्न यो हो ? के हामी किसानको पसिनालाई फेरि मुस्कानमा बदल्न सक्नेछौं ।