शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिजनअघि नै हरियो जुनार बजारमा, किसानलाई चाडपर्वको खर्च टार्न बाध्यता

बुधवार , आश्विन २२, २०८२

सिन्धुली,२२ असोज — सिजन सुरु हुन अझै करिव एक महिना बाँकी छ । तर, जुनार उत्पादनका लागि चर्चित सिन्धुलीमा यसपटक सिजनभन्दा अघि नै हरियो, काँचो जुनार बजारमा आइपुगेको छ ।

दशैं सकिएर तिहार नजिकिँदै गर्दा खर्च जुटाउन किसानहरू बाध्य भएर समयअगावै फल बिक्री गर्न थालेका छन् । गोलान्जोर गाउँपालिका–४ तीनकन्याका किसान बिरबहादुर आले भन्नुहुन्छ, “तिहारं खर्चका लागि बाध्य भएर काँचो जुनारै बोटबाट टिप्नुपरेको हो । अहिले व्यापारीहरूले घरमै आएर प्रति दाना पाँचदेखि सात रुपैयाँमा खरिद गर्दैछन् ।”

किसानहरूले हाल जुनारमा फैलिएको चुसाहा (सुँडे) पुतली किराको प्रकोपका कारण पनि छिट्टै टिप्न बाध्य भएको बताएका छन् । फल चुस्ने किराले बोटबाट दाना झर्ने र पिँहले हुने समस्या देखिएकाले समयमै बचाउन कठिन भइरहेको उनीहरूको भनाइ छ ।

बिचौलियाहरूले घर–घरमै पुगेर जुनार किन्ने भएपछि किसानलाई तुरुन्त आम्दानी भए पनि उपभोक्ताले भने उच्च मूल्य तिर्नुपरेको छ । सिन्धुलीमाढीका व्यापारीहरूका अनुसार अहिले बजारमा काँचो जुनारको खुद्रा मूल्य प्रति केजी ९० रुपैयाँसम्म पुगेको छ ।

सिजनअघि काँचो जुनार बिक्री बढेपछि जुनार विकास संघले किसानलाई सचेत गराएको छ । संघका निर्वतमान उपाध्यक्ष कृष्णप्रसाद गौतमले भन्नुभयो, “काँचो जुनार बेच्दा स्वाद अमिलो भएर कागतीजस्तो हुन्छ । यसले सिन्धुलीको जुनारको गुणस्तर र साख दुवै बिगार्न सक्छ ।”

उहाँका अनुसार मंसिर महिना लागेपछि मात्र जुनार पाक्ने र त्यसपछि बजारमा पठाउँदा उपभोक्ताको विश्वास पनि बढ्नेछ । “गुणस्तरकै कारण सिन्धुलीको जुनारले नेपालभर नाम कमाएको छ,” गौतमले थप्नुभयो, “अहिले काँचोमै बेच्ने हो भने त्यो साख गुम्ने खतरा छ ।”

जुनार विकास संघका तथ्यांक अनुसार जिल्लाभर १,३२५ हेक्टरमा जुनार खेती भइरहेको छ । तीमध्ये ६२७ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा फल उत्पादन हुँदै आएको छ ।

रतनचुरा, जलकन्या, बाशेश्वर, तीनकन्या, बितिजोर, मझुवा र दुम्जा क्षेत्रहरू प्रमुख जुनार पकेट क्षेत्र मानिन्छन् । यहाँ उत्पादन भएको जुनार सिन्धुलीमाढी, काठमाडौं, विराटनगर, तराईका बजारहरू हुँदै भारतको सितामढी र पटनासम्म पठाइने गरेको छ ।

किसान बिरबहादुर आले भन्नुहुन्छ, “अहिले त काँचोमा बेच्यौं, तर अर्को वर्ष रोग नलागोस् र राम्रो फलोस् भन्ने चाहना छ ।” तर जुनार विकास संघका अगुवा भने किसानलाई सम्झाइरहेका छन्, “थोरै ढिलो भए पनि पाकेपछि मात्रै बिक्री गरौं, त्यसले सिन्धुलीको जुनारको मिठास र मान दुवै जोगिन्छ ।

प्रतिक्रिया