शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

भाटभटेनीका १० हजार कर्मचारीको रोजगारी सुरक्षित

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं,३ असोज – भदौ २४ गतेको उग्र प्रदर्शनपछि भाटभटेनी सुपरस्टोरमा ठूलो क्षति पुगेको छ । केन्द्रीय कार्यालयसहित देशभरका २८ शाखामध्ये १२ वटा पूर्ण रूपमा जलेर नष्ट भए, नौ वटामा तोडफोड र डकैती भए भने सात वटामा भने सामान्य क्षति पुग्यो ।

यस्तो अवस्थामा हजारौँ कर्मचारीको भविष्य अनिश्चित हुने आशंका गरिएको थियो । तर, भाटभटेनी सुपरस्टोरले आफ्नो मानव संसाधन सुरक्षित रहने स्पष्ट संकेत दिएको छ । हाल सुपरस्टोरमा करिब १० हजार कर्मचारी कार्यरत छन् र कुनै पनि कर्मचारीलाई हटाउनुपर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ ।

भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएको जानकारी गराउनुभएको छ । प्रमुख सञ्चालन अधिकृत पौडेलका अनुसार, अहिले बन्द रहेका १२ शाखाका कर्मचारीलाई सञ्चालनमा रहेका अन्य स्टोरमा पुनः जिम्मेवारी तोकिएको छ, जसका कारण कसैले पनि जागिर गुमाउनु परेको छैन ।

अहिलेसम्म १६ वटा शाखा पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी शाखा क्षतिग्रस्त भएकाले अस्थायी रूपमा बन्द छन् । वार्षिक ३७ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने भाटभटेनीले व्यापारमा ठूलो घाटा खेप्नु परे पनि आफ्ना कर्मचारीलाई सुरक्षित राख्ने निर्णयलाई प्राथमिकता दिएको छ । यसले कम्पनीको दिगोपनामा विश्वास कायम गराउनुका साथै संकटको घडीमा रोजगार जोगाउन सकिने उदाहरण पनि प्रस्तुत गरेको छ ।

 

प्रतिक्रिया