शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटपाट

बुधवार , आश्विन १, २०८२

काठमाडौं,०१ असोज — नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले जेन जी आन्दोलनकाक्रममा भएको ठूलो लुटपाटबारे पहिलो पटक खुलासा गर्नुभएको छ । उहाँका अनुसार संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको हो । यो रकम करिब ३८ करोड रुपैयाँ बराबर पर्छ । गभर्नर पौडेलले एक पडकास्टमार्फत् सार्वजनिक गरेका यो जानकारीले आन्दोलनको आर्थिक क्षतिको गम्भीरता देखाएको छ ।

एक पडकास्टमा गभर्नरले भन्नुभयो, “एक स्थानमा अत्यन्तै गम्भीर लुटपाट भएको छ । संसद् भवनमै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ठूलो परिमाणमा नगद र सुन लुटिएको हो ।” उहाँका अनुसार घटनापछि सिसिटिभी फुटेज हेरेर अनुसन्धान अघि बढाइएको छ र घटनाको सम्पूर्ण विवरण पत्ता लगाउन प्रहरी तथा सम्बन्धित निकाय खटिएका छन् ।

आन्दोलनका कारण केवल उक्त शाखा मात्र नभई मुलुकभरका बैंक तथा वित्तीय संस्थाहरू पनि आंशिक रूपमा प्रभावित भएका थिए । राष्ट्र बैंकले त्यतिबेला पेमेन्ट प्रणालीलाई जोगाउन विशेष ध्यान दिएको र सम्पूर्ण बैंकिङ क्षेत्रलाई परिचालन गरिएको गभर्नर पौडेलले स्पष्ट पार्नुभयो । उहाँका अनुसार आन्दोलनकाक्रममा ६८ वटा बैंक शाखा कार्यालयहरूमा आक्रमण भएका थिए भने ६९ वटा एटिएममा क्षति पुगेको थियो । तर समग्रमा बैंकिङ प्रणाली भने सञ्चालनमै रहेको उहाँको भनाइ छ ।

यस घटनाले राजनीतिक आन्दोलनको क्रममा आर्थिक संरचना र वित्तीय सुरक्षामाथि पर्ने जोखिमलाई उजागर गरेको छ । ठूलो मात्रामा सुन र नगद चोरी हुनु केवल बैंकका लागि मात्र नभई सम्पूर्ण वित्तीय प्रणालीकै लागि गम्भीर चुनौती हो भन्ने गभर्नरको टिप्पणीले भविष्यमा सुरक्षा संयन्त्र र संकट व्यवस्थापनबारे गहिरो प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया