काठमाडौं, २७ भदौ – जेनजी आन्दोलनले सिर्जना गरेको हिंसात्मक वातावरणले देशको निजी उद्यम–व्यवसाय क्षेत्रमा अहिलेसम्मकै गहिरो घाउ छोडेको छ । चार दशकअघि नक्सालको सानो सटरबाट सुरु भई आज देशव्यापी रूपमा २५ भन्दा बढी शाखामा विस्तार भएको भाटभटेनी सुपरस्टोरमाथि भएको आक्रमणले एकै पटक कम्तीमा ५ हजार कामदार रोजगारीविहीन भएका छन् । संस्थापक मीनबहादुर गुरुङले ४१ वर्षे निरन्तर लगन, आँट र लगानीबाट खडा गरेको यो व्यापारिक प्रतिष्ठान तीन दिनदेखि भएको आन्दोलनको हिंसात्मक स्वरूपकै कारण ध्वस्त भएको हो ।
भाटभटेनी व्यवस्थापनका अनुसार राजधानी काठमाडौंका नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटारलगायतका प्रमुख शाखा मात्र होइन, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, विराटनगर, धरानजस्ता सहरका ठूला स्टोरसमेत आगजनी र लुटपाटको निशानामा परेका छन् । करिब एक दर्जन शाखा पूर्णरूपमा जलेर खरानी भएका छन् भने नौवटा शाखामा तोडफोड र लुटपाट भयो । कतिपय स्थानमा आगो लगाइएको अझै नियन्त्रणमा आउन नसकेको व्यवस्थापनले जनाएको छ । भाग्यमानी ठहरिएका सात शाखा भने आक्रमणबाट जोगिएका छन् ।
भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार, “भौतिक तथा आर्थिक क्षति कल्पनाभन्दा बाहिरको छ । दैनिक १० करोडभन्दा बढीको कारोबार गर्ने भाटभटेनीका स्टोरहरू आज पूर्णरूपमा ध्वस्त छन् । यसका कारण हजारौं कर्मचारी तत्काल रोजगारीविहीन भएका छन्, जसको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता अहिले प्रमुख बनेको छ ।” भाटभटेनीका शाखामा महिलाको रोजगारी उल्लेख्य रहेकोले यसले अझ गहिरो सामाजिक असर पार्ने उहाँले बताउनुभयो ।
तोडफोड र लुटपाटका क्रममा सामान मात्र होइन, नगद पनि ठूलो परिमाणमा लुटिएको व्यवस्थापनको दाबी छ । गत वर्षको कारोबार हेर्दा भाटभटेनीले वार्षिक करिब ३९ अर्ब रुपैयाँ बराबरको व्यापार गरेकोमा यसपटक दशैं–तिहारको सिजन सुरु हुनु अघि भएको क्षतिले मुलुकको खुद्रा बजारमै ठूलो धक्का पुर्याउने देखिन्छ । दसैंको पहिलो १० दिनमै वार्षिक कारोबारको १२ प्रतिशत हुने गरेकोमा यो वर्ष त्यो हिस्सा लगभग शून्यमा झर्ने पक्का छ ।
व्यवसायिक क्षतिको यो अध्यायले भाटभटेनी मात्र नभई समग्र उद्यमशीलता र लगानीकर्ताको मनोबलमाथि गम्भीर असर पार्ने देखिएको छ । आन्दोलनकारीको आक्रोशको प्रत्यक्ष निशाना निजी क्षेत्र बन्नु, त्यसमाथि देशकै सबैभन्दा ठूलो खुद्रा श्रृंखलालाई खण्डहरमा परिणत गर्नु, अर्थतन्त्रमा दीर्घकालीन नोक्सानको संकेत हो । संस्थापक गुरुङले भने हार नमान्ने र फेरि पुरानै स्वरूपमा भाटभटेनीलाई ठड्याउने दृढता व्यक्त गरेका छन् । तर प्रश्न अझै उही छ–अर्बौंको क्षति र हजारौं रोजगारी गुमाउने जिम्मेवारी कसले लिने ? आन्दोलनकारी, सुरक्षा संयन्त्र वा सरकार ? यस प्रश्नको जवाफ पाउन बाँकी छ, तर भाटभटेनीका धुवाँमय भग्नावशेषहरूले भने तत्कालीन अवस्थाको करुण सन्देश दिइरहेका छन् ।