सिन्धुली,४ भदौ – सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशले नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना अन्तर्गत पूर्व सिकाइको मान्यता विधिबाट सीप परीक्षणमा सफल भएका सहभागीसँग कमलामाई नगरपालिकामा आयोजित एक विशेष समारोहमार्फत बुधवार प्रमाणपत्र वितरण गरेको छ ।
यस वर्ष विभिन्न क्षेत्रमा सीप परीक्षणमा सफल भएका सहभागीलाई औपचारिक प्रमाणपत्र प्रदान गरिएको छ । यसबाट उनीहरूले आफ्नो सीपलाई प्रमाणित गरेर रोजगारीमा अवसर बढाउने मात्र नभई आत्मसम्मान समेत कायम राख्न सक्ने अपेक्षा गरिएको छ ।
सामाजिक विकास मन्त्रालय र सिटिइभिटि ÷एनएसटिभि को सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम उद्देश्य भनेको लामो समयदेखि परम्परागत र अनौपचारिक तरिकाले सीप सिक्दै आएका कामदारको ज्ञानलाई राष्ट्रिय योग्यता प्रणालीभित्र ल्याउनु हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले भन्नुभयो, “हाम्रो समाजमा धेरै मानिसले औपचारिक शिक्षा बिना नै पेशागत सीप सिकेका हुन्छन् । तर, प्रमाणपत्र नहुँदा उनीहरूको सीपलाई मान्यता मिल्दैन । आरपिएल ले उनीहरूको सीपलाई राष्ट्रिय स्तरमा प्रमाणित गर्छ, जसले रोजगारी र आत्मनिर्भरता दुवै बढाउँछ ।”
उहाँले थप्नुभयो “नगरपालिकाले आगामी दिनमा पनि सीपधनी व्यक्तिलाई राज्यको मुख्यधारमा ल्याउने कार्यक्रमलाई निरन्तर सहयोग गर्नेछ ।”
कार्यक्रममा सहभागी भएका केही व्यक्तिहरूले प्रमाणपत्र पाएपछि आफ्नो अनुभव बाँडे । एक सहभागीले भने,“हामीसँग सीप त थियो, तर कागज थिएन । अब यो प्रमाणपत्रले रोजगारी खोज्न सजिलो बनाउने छ ।”
निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज बरालले सबै सफल सहभागीलाई बधाई दिँदै भन्नुभयो, “यो उपलब्धिले अन्य सीपधनीहरूलाई पनि च्एी प्रक्रियामा आउन प्रेरित गर्नेछ ।”
विशेषज्ञहरूको भनाइमा, नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना जस्ता कार्यक्रमले नेपालमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने, श्रम बजारलाई व्यवस्थित गर्ने र वैदेशिक रोजगारमा प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ । यसले केवल व्यक्तिगत जीवनस्तर मात्र होइन, समग्र समाजलाई आत्मनिर्भर बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
यसरी, सिन्धुलीमा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रमले “सीपलाई सम्मान, प्रमाणपत्रमार्फत अवसर” भन्ने सन्देश दिएको छ ।
कमलामाई नगरपालिकामा आयोजित सो कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षता भएको थियो । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुखहरू, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।