काठमाडौं, १ भदौ – नेपाल विद्युत प्राधिकरणको नाफामा चालु आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य कमी आएको छ । प्राधिकरणको वार्षिक रिपोर्ट अनुसार, यस वर्ष प्राधिकरणले जम्मा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको १० अर्ब ५३ करोड रुपैयाँको तुलनामा ३७.३२ प्रतिशतले कम हो ।
लामो समयसम्म लगातार नाफा कमाउँदै आएको प्राधिकरणको नाफामा आएको यो गिरावटलाई धेरैले चासोका साथ हेरेका छन् । विशेषगरी पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालपछि नाफामा आएको यो कमीलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नाफा घट्नुका विभिन्न कारणहरू औंल्याउँनुभएको छ । उहाँका अनुसार, जापानी यनको अधिमूल्यनका कारण विदेशी ऋण भुक्तानीमा भएको वृद्धि, प्रशासनिक खर्चमा भएको बढोत्तरी र औसत विद्युत बिक्री मूल्यमा आएको कमीले नाफामा असर पारेको छ ।
“विदेशी मुद्रामा भएको उतारचढाव र आन्तरिक खर्च व्यवस्थापनका चुनौतीहरूले गर्दा नाफामा केही कमी आएको हो,“ शाक्यले भन्नुभयो, “तर, हामीले नयाँ आयोजनाहरूबाट थप उत्पादन सुरु गर्ने र खर्चलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं । आगामी वर्षमा नाफा पुनः बढ्नेछ भन्नेमा हामी विश्वस्त छौं । ”
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा नेपालको राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३,५९१ मेगावाट पुगेको छ । यस वर्ष प्रणालीमा कुल १५,६४१ गिगावाट घण्टा विद्युत उपलब्ध भएको थियो । यसमध्ये प्राधिकरण र यसका सहायक कम्पनीहरूको उत्पादन हिस्सा ३४ प्रतिशत, स्वतन्त्र विद्युत उत्पादकहरूको ५५ प्रतिशत र भारतबाट आयात गरिएको विद्युतको हिस्सा ११ प्रतिशत रहेको छ ।
नेपालमा आन्तरिक विद्युत खपत पनि १०.७ प्रतिशतले वृद्धि भई ११,३१९ गिगावाट घण्टा पुगेको छ । विद्युत् चुहावटमा भने ०.४७ प्रतिशतको सुधार आई समग्र चुहावट दर घटेको छ। प्राधिकरणले यस वर्ष ४३४ मेगावाट थप क्षमता प्रणालीमा जोडेको छ, जसमा १५३.५ मेगावाट प्राधिकरण मातहतका आयोजनाबाट र २९०.५ मेगावाट निजी उत्पादकहरूबाट आएको छ ।
प्राधिकरणको कुल सम्पत्ति यस वर्ष ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो तथ्यांकले प्राधिकरणको भौतिक र वित्तीय संरचना विस्तार हुँदै गएको देखाउँछ, तर नाफामा आएको गिरावटले भने वित्तीय व्यवस्थापनमा नयाँ चुनौतीहरू थपिएको संकेत गरेको छ ।