शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दैनिक ५० हजार रुपैयाँको भुइँकटहर कारोबार गर्दै करकरे

मंगलवार , श्रावण २०, २०८२

सिन्धुली, २० साउन — विपी राजमार्गको माइथानदेखि भिमानसम्म यात्रा गर्ने जो–कोहीको ध्यान अहिले सडक छेउछाउ लस्करै राखिएका भुइँकटहरमा जान्छ । विशेषगरी सिन्धुलीको करकरे क्षेत्रका किसानहरूले उत्पादन गरेको भुइँकटहरले अहिले कृषिमा नयाँ सम्भावना देखाएको छ ।

स्थानीय उत्पादनको रूपमा रहेको भुइँकटहर यहाँ दैनिक झण्डै ५० हजार रुपैयाँ बराबरमा बिक्री हुने गरेको स्थानीयहरू बताउँछन् । करिब १ हजार गोटा कटहर प्रतिदिन बिक्री हुँदै आएको छ । लोकल जातको कटहर ५० रुपैयाँमा पाइन्छ भने हाइब्रिड जातको कटहर १५० देखि २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

करिब पाँच वर्षअघि सम्म खानका लागि थोरै मात्रामा लगाइने कटहर अब व्यावसायिक खेतीमा रूपान्तरण भएको छ । स्थानीय किसानहरू परम्परागत बाली छोडेर भुइँकटहर खेतीमै केन्द्रित हुन थालेका छन् ।

करकरेका किसान अनिता खडकाले भन्नुभयो, “पहिले दस हजार रुपैयाँ मात्र फल्ने पाखोबारीमा अहिले ५० हजार रुपैयाँ बराबरको भुइँकटहर फल्न थालेको छ ।”

भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उहाँले बताउनुभयो । अन्य बाली लगाउँदा खासै केही नहुने पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको उहाँले बताउनुभयो । “यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ”, खडकाले भन्नुभयो ।

बिक्रीको सहजताले यो खेती थप लोकप्रिय बन्दै गएको छ । उत्पादन भएको कटहर राजमार्गकै किनारमा सजिलै बिक्री भइरहेको छ, जसका कारण बाह्य बजारमा पठाउनु पर्ने आवश्यकता पनि परेको छैन ।

सिन्धुलीको करकरे क्षेत्रलाई कमलामाई नगरपालिकाले भुइँकटहरको पकेट क्षेत्रका रूपमा घोषणा गर्दै भुइँकटहर खेतीलाई प्रोत्साहन गरिएको छ । कृषि क्षेत्रको सम्भावना देखेर स्थानीय तह र सरोकारवाला निकायहरूले भुइँकटहर खेतीमा प्रोत्साहन दिन थालेका छन् ।

विशेषगरी वर्षायाममा खपत बढ्ने, स्वास्थ्यका लागि लाभदायक मानिने भुइँकटहरको माग उच्च छ । बजारको अभाव नहुँदा किसान उत्साहित छन् भने कृषि आम्दानीमा आएको वृद्धिले करकरे क्षेत्रको समृद्धिको बाटो खोलिदिएको देखिन्छ ।

प्रतिक्रिया