सिन्धुली,१६ साउन – पहाडी क्षेत्रमा प्राचीन कालदेखि खेती हुँदै आएको र पछिल्लो समय उपेक्षा भोग्दै गएको रैथाने बाली कोदोको प्रबर्द्धन गर्न ‘राष्ट्रिय कोदो दिवस–२०८२’ सिन्धुलीमा पहिलोपटक मनाइएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा, जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा प्रभातफेरी तथा कोदोजन्य परिकारको प्रदर्शन र सेवन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित सम्पन्न भएको हो ।
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीका अनुसार, जिल्लामा हाल १० हजार ८४२ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ भने वार्षिक उत्पादन ११ हजार ७४ मेट्रिक टन रहेको छ । उहाँले कोदो सुक्खा तथा कम उर्बर भूमिमा पनि फल्न सक्ने र यसको धार्मिक, सांस्कृतिक र पोषणीय महत्व रहेको उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले असार २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ सालदेखि राष्ट्रियस्तरमै कोदो दिवस मनाउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले कोदोले पोषणमा पु¥याउने योगदानका बाबजुद लामो समयसम्म बेवास्ता गरिएको भन्दै यसको गौरव र प्रबर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति उप–प्रमुख शान्ता कार्कीले कोदो खेती प्रबर्द्धनका लागि बिउ, मल र कृषि उपकरणमा सहुलियत दिने सरकारी व्यवस्था आवश्यक रहेको औँल्याउनुभयो । साथै, गाउँघरमा कोदो उत्पादन गर्ने किसानलाई ’कोदे’ भनेर हेप्ने प्रवृत्तिले कोदो खेती घटेको चिन्ता पनि व्यक्त गर्नुभयो ।
गोलन्जोर गाउँपालिका–४ तीनकन्याका किसान जीतबहादुर ठकुरीका अनुसार, पछिल्लो समय घरेलु मदिरा उत्पादनका लागि कोदोको माग बढेसँगै मूल्य पनि बढेको छ । केही वर्षअघिसम्म कोदो बिक्री नभएर गाईबस्तुलाई खुवाउने चलन भए पनि अहिले बारीमै ग्राहक पुगेर बैना मार्ने प्रचलन बसेको उहाँले बताउनुभयो । उहाँको भनाइमा, पाखोबारी तथा जुनार–सुन्तला बगैँचाभित्र कोदो खेती गरेर राम्रो आम्दानी लिन थालेका छन् ।
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले आधुनिक जीवनशैली र बजारिकरणका कारण कोदो खेती घट्दै गएपछि त्यसको महत्व आम जनतासम्म पुर्याउन दिवस मनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोदोको महत्व बुझेकाहरू अझै खोजी–खोजी कोदाजन्य परिकार सेवन गर्छन्, यो सन्देश सबैमा फैलाउनु आवश्यक छ ।”
सिन्धुलीका घ्याङ्लेक, फिक्कल, गोलन्जोर, सुनकोशी गाउँपालिका र कमलामाई तथा दुधौली नगरपालिकामा कोदो खेती व्यापक रूपमा हुँदै आएको कृषि कार्यालयले जनाएको छ ।
पहाडका पाखोबारीदेखि बगैँचाभित्रसम्म फैलिएको कोदो खेतीलाई रैथाने सम्पत्ति, पोषण सुरक्षाको आधार र आर्थिक सम्भावनाको स्रोतका रूपमा लिइरहेको यो पहलले सामाजिक सोच परिवर्तन गर्न र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।