सिन्धुली — स्थानीय उत्पादन र उद्यम प्रवर्द्धन को उद्देश्यसहित ‘स्वदेशी अभियान’को दोस्रो संस्करण सिन्धुली माडीमा आयोजना हुँदैछ । यसअघि २०८१ सालमा मुलकोटमा सम्पन्न पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । ‘छुने छ सिन्धुलीले नयाँ उचाइ’ भन्ने मूल नारासहित अगाडि बढाइएको यो कार्यक्रम ‘वाइज कछुवा’को आयोजनामा सम्पन्न हुनेछ ।
यसअघि २०८१ सालमा मुलकोटमा सम्पन्न पहिलो संस्करणमा १०० देखि १५० जना युवा उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो । त्यस संस्करणले स्थानीय उद्योग–व्यवसायमा उत्साहजनक प्रभाव पारेको थियो र घरेलु उद्यमहरूलाई सफल बनाउने दिशामा महत्वपूर्ण सहयोग पुर्याएको थियो ।
दोस्रो संस्करणका विशेष परियोजनाहरूमा दुई प्रमुख परियोजनाको प्रवर्द्धन र छलफल हुने आयोजकले जानकारी दिएका छन ।
पहिलो परियोजनामा सिन्धुलीको प्रसिद्ध जुनारलाई मूल्य प्रवर्द्धन गर्दै स्थानीय किसानहरूलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यसहित स्थापना गरिएको यो कारखानाबारे प्रगति, बजार विस्तार र सम्भावनाहरूमा सघन छलफल गरिनेछ ।
दोश्रो परियोजनामा १.७ कि.मी. केबलकार परियोजना (दुंग्रेबास–सिद्धबाबा मन्दिर–सिन्धुलीगढी) पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले अगाडि बढाइएको यो महत्वाकांक्षी यातायात परियोजनाबारे हालसम्मको प्रगति, सम्भावित प्रभाव र लगानीका अवसरहरूबारे प्रस्तुति हुनेछ ।
संस्थाका संस्थापक पासाङ स्याङ्तानका अनुसार, यस संस्करणमा पनि स्थानीय जनप्रतिनिधिहरूलाई सहभागी गराएर स्थानीय उद्योग र उद्यमशिलतालाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिनेछ । साथै, लगानी भित्र्याउने रणनीति र सम्भावनाहरूमाथि समेत विचार–विमर्श गरिनेछ ।
उहाँले भन्नुभयो, “स्वदेशी अभियानको मूल उद्देश्य स्थानीय स्तरमै उद्यमशीलता विकास गर्नु र स्वदेशी उत्पादनहरूलाई प्रोत्साहन गर्नु हो । पहिलो संस्करणबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकोले दोस्रो संस्करणमा अझ प्रभावकारी कार्यक्रमहरू राख्ने तयारी गरिएको छ ।”
सिन्धुलीको समृद्ध भविष्य निर्माणमा सबै उद्यमीहरूलाई एकजुट गराउने उद्देश्यसहित आयोजना हुन लागेको यो दोस्रो संस्करणलाई स्थानीय स्तरमा मात्र नभई राष्ट्रियस्तरमा पनि प्रभाव पार्ने अभियानको रूपमा हेरिएको छ ।