शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बीपी राजमार्ग पुनर्निर्माण गर्न २ अर्ब ६१ करोड रुपैयाँ अनुदान सुनिश्चित

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं, १४ साउन — प्राकृतिक प्रकोपले क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि नेपाल सरकारले जापानसँग २ अर्ब ६१ करोड रुपैयाँ बराबरको अनुदान सहायता लिन लागेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय पारित गरेको हो ।

२०८१ सालको असोजमा आएको विनाशकारी बाढीले बिपी राजमार्गमा ठूलो क्षति पुर्‍याएपछि राजमार्गको पुनर्निर्माण आवश्यकता भएको थियो । हालसम्म २५ किलोमिटर खण्डमा निर्माणको काम अगाडि बढिसकेको छ भने भकुण्डेबेंसीदेखि नेपालथोकसम्मको ३०.५ किलोमिटर दूरीमा दुई लेनको नयाँ सडक बनाउने तयारी छ ।

सडक विभागका अनुसार निर्माण कार्यलाई सहज बनाउने उद्देश्यले सिन्धुलीतर्फ एक र काभ्रेतर्फ दुई गरी तीनवटा प्याकेजमा ठेक्का सम्झौता गरिएको छ । यी सबै ठेक्काहरू गत असार महिनामा हस्ताक्षर भएका हुन्, र सम्झौता मितिबाट दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने लक्ष्य लिइएको छ ।

बीपी राजमार्गको करिब ५ किलोमिटर खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आफैं निर्माण गर्ने योजनासहित प्रारम्भिक सर्भे (फाइनल सर्भे) सुरु गरिसकेको छ। पिप्ले–बर्खेखोला ३.२ किमि खण्ड जाइकाको प्रत्यक्ष अनुदानमा बन्ने भएको छ ।

यो परियोजना नेपाल–जापानबीचको द्विपक्षीय सहयोगको प्रतिक मात्र नभई, प्राकृतिक प्रकोपपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहभागिता कसरी सहायक हुन्छ भन्ने उदाहरण पनि बन्न सक्छ ।

प्रतिक्रिया