सिन्धुली – नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो मासु प्रशोधन उद्योग स्थापनाका लागि करिब २७ अर्ब रुपैयाँको लगानी हुने भएको छ । चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनी र नेपाली कम्पनी हिमालयन फुड इन्टरनेसनल प्रा.लि. बीचको सहकार्यमा सिन्धुलीको मरिण गाउँपालिका–४ मा यो परियोजना सञ्चालनमा आउनेछ ।
सरकारको उद्योग विभागले छेन्दु जियान फुड कम्पनीलाई साउन ८ गते प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) अन्तर्गत २० अर्ब रुपैयाँको लगानी अनुमति दिएको हो । यो स्वीकृति प्राप्त भएपछि नेपालमा स्थापना हुने लागेको मासु प्रशोधन उद्योग हालसम्मकै सबैभन्दा ठूलो विदेशी लगानीयुक्त परियोजना बनेको छ ।
यो उद्योगले दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक वस्तुहरू (छाला, टाउको, भित्री अंग आदि) वार्षिक उत्पादन गर्ने लक्ष्य राखेको छ । एक सय बिघा क्षेत्रफलमा फैलिने यस उद्योगले पूर्ण क्षमतामा पुगेपछि ५,१५६ जनालाई प्रत्यक्ष रोजगारी दिने बताइएको छ ।
कम्पनीले पहिलो वर्षभित्र ६ अर्ब, दोस्रो वर्षभित्र १० अर्ब र तेस्रो वर्षभित्र थप ४ अर्ब रुपैयाँको लगानी भित्र्याउने तालिका पेस गरिसकेको छ । १० देखि २० महिनाभित्र निर्माण सुरु गरिने र सन् २०२६ फेब्रुअरीबाट मासु निर्यात सुरु गरिने लक्ष्य लिएको छ ।
परियोजनामा नेपाली निजी कम्पनी हिमालयन फुड इन्टरनेसनल ले पनि ७ अर्ब रुपैयाँको सहलगानी गर्नेछ । यो लगानी बैंक ऋण र स्वपुँजीबाट जुटाइने बताइएको छ । अध्यक्ष नवीन शर्मा का अनुसार, कम्पनीले हाल बैंकहरूसँग छलफल गरिरहेको छ । शर्माले भन्नुभयो, “छेन्दु जियानसँग प्रत्यक्ष साझेदारी होइन, तर एउटै परियोजनामा सहकार्यका लागि छुट्टै संरचना तयार गरेर हामी ७ अर्बको लगानी गर्दैछौं ।”
छेन्दु जियान कम्पनीले कारखाना निर्माण, किसान व्यवस्थापन, घाँस खेती, भैंसी पालन, मासु प्रशोधन र बजार व्यवस्थापनको सम्पूर्ण चक्रको नेतृत्व गर्नेछ। हिमालयन फुडले निर्यात, बजार पहुँच, आपूर्ति सञ्जाल र आवश्यक भएमा किसानलाई कोष सहयोगजस्ता पक्षमा समन्वय गर्नेछ ।
यो परियोजना केवल मासु बिक्री नभई, सम्पूर्ण कृषि आपूर्ति श्रृंखलालाई समेट्ने खालको हुने बताइएको छ। परियोजना पूर्णरूपमा सञ्चालनमा आएपछि पाँच लाख किसान प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष शर्माले बताएका छन् ।
चीन विश्वमै सबैभन्दा धेरै मासु खपत गर्ने मुलुक हो। हाल उसले अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिनाजस्ता टाढाका मुलुकहरूबाट मासु आयात गरिरहेको छ । नेपाल भौगोलिक रूपमा चीनसँग नजिक र लागतमा पनि तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले नेपाललाई दीर्घकालीन आपूर्तिकर्ता बनाउने रणनीतिमा चिनियाँ कम्पनीहरू आकर्षित भएका हुन् ।
छेन्दु जियान र हिमालयन फुडबीच प्रारम्भिक समझदारी भए पनि जग्गा हदबन्दी र खोरमुक्त क्षेत्र घोषणाजस्ता कानुनी प्रक्रिया ढिलो हुँदा परियोजना करिब ६ महिना पछाडि सरेको बताइएको छ ।
यो परियोजना केवल रोजगारी र निर्यात आम्दानीमा मात्र सीमित छैन, नेपालको पशुपालन, घाँस खेती, ग्रामीण अर्थतन्त्र र किसानको आयमा दीर्घकालीन सुधार ल्याउने क्षमता राख्ने राष्ट्रिय महत्वको योजना हो। यदि समयमै कार्यान्वयन भयो भने यो नेपाललाई मासु निर्यातक देशको रूपमा स्थापित गर्नेतर्फको ऐतिहासिक कदम सावित हुनसक्छ ।