सिन्धुली – सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/८३ का लागि नगरसभा तथा गाउँसभामार्फत बजेट सार्वजनिक गरिसकेका छन । तर अघिल्लो वर्षहरूको अभ्यास हेर्दा बजेट ल्याउनु र त्यसको खर्च गर्न नसक्नु भन्ने पुरानै प्रवृत्ति यो वर्ष पनि दोहोरिने देखिन्छ ।
एकातिर जनप्रतिनिधिहरू ’विकास गर्न बजेट छैन’ भन्ने गुनासो गर्छन्, अर्कातिर प्राप्त बजेट खर्च गर्न नसकेर फ्रिज हुने अवस्था वर्षेनि दोहोरिइरहेको छ । सिन्धुलीका अधिकांश पालिका र वडाहरूले समयमै योजना तर्जुमा, कार्यविधि निर्माण, ठेक्का प्रक्रिया र भुक्तानी प्रक्रिया अघि बढाउन नसक्दा करोडौँ बजेट फ्रिज भएको देखिएको छ ।
संविधानले तोकेको मितिअनुसार संघीय, प्रदेश र स्थानीय तहले तोकिएको समयमा बजेट सार्वजनिक गर्ने परिपाटी सुरु भए पनि त्यसअनुसार कार्यान्वयनमा भने सुधार देखिएको छैन ।
सिन्धुलीका कतिपय स्थानीयतहमा असारको अन्तिमसम्म पनि योजना छनोटमै अल्झिने, साउन महिनामा मात्रै कार्यविधि बनाउने, ठेक्काको प्रक्रिया ढिलो गर्नेजस्ता कारणले पूँजीगत बजेट खर्च गर्न असम्भवजस्तै देखिन्छ ।
गत वर्ष सिन्धुली जिल्लाका धेरै पालिकाहरूमा सडक, खानेपानी, भवन निर्माण, कृषि प्रवद्र्धन लगायतका योजनाहरू कागजमै सीमित रहे । समयमै ठेक्का प्रक्रिया अघि नबढ्दा र अनुगमन प्रणाली कमजोर हुँदा योजनाहरू कार्यान्वयन हुन सकेनन्, जसको प्रत्यक्ष असर बजेट फ्रिज भएर देखिएको हो ।
सिन्धुलीमा बजेट खर्च नहुनुको प्रमुख कारणहरूमा प्रशासनिक संयन्त्रको कमजोरी, योजनाको तयारीमा ढिलासुस्ती, प्राविधिक जनशक्तिको अभाव, र राजनीतिक हस्तक्षेप रहेका छन् । एकातिर योजना बनाउने क्रममा प्रष्ट मार्गदर्शन नहुनु, अर्कोतिर कार्यान्वयनमा लापरबाही हुनुले योजनाहरू अलपत्र पर्ने गरेका छन् । यसबाहेक, कतिपय योजनामा भ्रष्टाचार, अनियमितता र ठेकदारसँगको साँठगाँठले पनि समयमै काम सम्पन्न हुन नदिएको गुनासो सर्वसाधारणबाट आइरहेको छ ।
बजेट खर्च गर्ने क्षमता बढाउन केही महत्वपूर्ण उपायहरू अपनाउनु आवश्यक छ । पहिलो र महत्वपूर्ण उपाय भनेको प्रशासनिक सुधार हो । सरकारी निकायहरूमा दक्षता र क्षमता अभिबृद्धि गर्नुपर्छ । आवश्यक जनशक्ति परिपूर्ति र ती जनशक्तिको क्षमता विकासमा ध्यान जानु जरुरी छ । हाम्रा संयन्त्रहरुमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता अर्को खट्किएको विषय हो । हाम्रो समस्या थाहा नहुनु होइन, समस्याको निराकरणमा इमान्दार प्रयत्न नहुनु भने हो । साधन स्रोत नहुनु एउटा कुरा, भएको साधन स्रोतको ठीक ढंगले उपयोग गर्न नसक्नु लाजमर्दो कुरा हो ।
सिन्धुलीको ग्रामीण क्षेत्रका नागरिकहरू अझै पनि आधारभूत पूर्वाधार, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सडक सेवाबाट वञ्चित छन् । यसबीचमा आउने बजेट समयमै खर्च गर्न नसक्दा दीर्घकालीन विकास योजना अधुरो रहन्छ, जनताको विश्वास घट्छ, आगामी वर्षको बजेटसमेत प्रभावित हुन्छ ।
अब सिन्धुलीमा बजेट फ्रिज हुन नदिन यथार्थमा आधारित केही गम्भीर सुधार आवश्यक देखिन्छ । कार्यविधि र योजना समयमै तयार पार्नुपर्ने, जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्नुपर्ने,र समन्वय र अनुगमन संयन्त्र बलियो बनाइनुपर्ने देखिन्छ ।
सिन्धुलीमा हरेक वर्ष समृद्धिको भाषण हुन्छ, विकासको सपना देखाइन्छ । तर योजनाहरू कागजमै सीमित हुने, बजेट फ्रिज हुने परिपाटीले त्यो सपना झन् टाढा बनाउँदै लगेको छ । अब राजनीतिक भाषण होइन, परिणाम चाहिएको छ । स्रोतको अभाव होइन, भएको बजेटको सदुपयोग गर्न नसक्ने गैरजिम्मेवार शैली नै सिन्धुलीको विकासको मुख्य बाधक बनेको हो ।