सिन्धुली, – चीनको लगानीमा सिन्धुलीको मरिण गाउँपालिकामा २० अर्ब रुपैयाँको लागतमा अत्याधुनिक मासु प्रशोधन फ्याक्ट्री निर्माण प्रक्रिया अघि बढाइएको छ । दैनिक पाँच हजार राँगा तथा भैँसीको मासु (झण्डै ५०० टन) चीन निर्यात गर्ने लक्ष्यसहितको यो परियोजना नेपाल–चीन दुईपक्षीय सहकार्यमा सञ्चालित हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष चीन भम्रणका क्रममा नेपालबाट राँगाभैँसीको मासु निर्यात गर्ने विषयमा दुई देशबिच सहमति भएको थियो ।। नेपालतर्फबाट हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनतर्फबाट सांघाई जियान फुड प्रालिबीच सम्झौता भएको छ ।
मरिण गाउँपालिका–४, साहानस्थित ५० बिघा जमिनमा मासु प्रशोधन फ्याक्ट्री निर्माण गरिँदैछ । हाल जग्गा पास गर्ने प्रक्रिया, प्राविधिक मूल्यांकन लगायतका तयारी अन्तिम चरणमा पुगेका छन् । परियोजनाका प्रमुख म्यानेजर डा. नवीन शर्माका अनुसार, आगामी भदौ महिनाबाट पूर्वाधार निर्माण सुरु गरिनेछ । निर्माण कार्य आगामी डेढ वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको छ ।
फ्याक्ट्री निर्माणपछि मासु सिन्धुलीबाट काठमाडौं, त्यसपछि केरुङ नाका हुँदै चीन निर्यात गरिनेछ। चीनले परियोजनाका लागि कुल २७ अर्ब लगानी गर्नेछ, जसमध्ये २० अर्ब फ्याक्ट्री निर्माणमा र बाँकी रकम पशुपालन र प्राविधिक सहयोगमा खर्च गरिनेछ ।
रोजगारी र स्थानीय विकासमा ठूलो योगदान
परियोजनाले ६ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ । सुरुवातमा २ सय चिनियाँ प्राविधिक रहने र बाँकी सबै कर्मचारी नेपाली हुने जनाइएको छ । पशुपालन तथा मासु प्रशोधन कार्य सिकाउन तालिम कार्यक्रम समेत संचालन गरिनेछ ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानका अनुसार, परियोजनाले स्थानीय अर्थतन्त्रमा ठुलो योगदान गर्नेछ । किसानलाई व्यवसायिक भैंसीपालनमा आकर्षित गर्न देशभर भैंसीपालक समूह गठन भइरहेको छ भने बर्दियाको गुलरियामा घाँस उत्पादन समेत सुरु भइसकेको छ ।
मासु निर्यातका लागि चीनले पशुहरू खोरेत रोगमुक्त क्षेत्रबाट आउनुपर्ने मापदण्ड राखेको छ । यसका लागि मरिण, हरिहरपुरगढी, मकवानपुरको बकैयाँ र बागमती गाउँपालिका तथा इलाम जिल्लालाई खोरेत रोगमुक्त घोषणा गरिएको छ । चीनले हालै मात्र परियोजनाको लगानी स्वीकृति दिएको र अब काम तीव्र गतिमा अघि बढ्ने म्यानेजर शर्माले जानकारी दिनुभयो ।भविष्यमा मासु निर्यात गर्न चाहने किसानहरूले अन्तिम ३ महिना खोरेत रोगमुक्त क्षेत्रमा भैंसी र पाडा पालन गर्नु अनिवार्य हुनेछ ।
चीनले मासु प्रशोधनसँगै मरिणमा एयरपोर्ट निर्माण गर्ने प्रस्ताव पनि अघि सारेको छ । गाउँपालिका अध्यक्ष मोक्तानका अनुसार वडा नं ७, बाह्रबिसेमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ। विमानस्थल निर्माणले पूर्वाधार विस्तारमा झनै टेवा पुग्नेछ ।
सिन्धुलीको मरिण गाउँपालिकामा बन्न लागेको यो मासु प्रशोधन फ्याक्ट्री नेपाल–चीन सहकार्यमा कृषिजन्य व्यापार विस्तार गर्ने ऐतिहासिक पहल हो। रोजगार, पशुपालन, राजस्व संकलन र स्थानीय पूर्वाधार विकासमा यसले बहुआयामिक योगदान गर्ने अपेक्षा गरिएको छ ।