सिन्धुली,— कमलामाई नगरपालिकाले स्थानिय युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्नका लागि सुरु गरेको “नगर युवा स्वरोजगार कार्यक्रम” अहिले गम्भीर संकटमा तानिएको छ । उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको पहलमा आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ मा नगरपालिकाले बिनाधितो, बिनाव्याज ऋण प्रदान गरेपनि, धेरै लाभग्राहीहरूले समयमै रकम फिर्ता नगरेपछि कार्यक्रमनै संकटमा परेको छ ।
नगरपालिकाले नगर युवा स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ अनुसार नगरका विभिन्न युवाहरू—जसमा उद्यमी, व्यवसायी, कलाकार, पत्रकार लगायतलाई स्वरोजगारका लागि रकम उपलब्ध गराएको थियो । तर अहिलेसम्म धेरैले ऋणको किस्ता अवधि सकिएपछि पनि रकम फिर्ता गरेका छैनन् । कार्यालयले पटक–पटक लिखित पत्राचार गरी रकम दाखिलाका लागि आग्रह गरे पनि सोहिर्दै कोही नआएको गुनासो रहेको छ ।
सामाजिक छविको आडमा रकम, तर जिम्मेवारी विहीनता
उपलब्ध विवरण अनुसार, कतिपयले आफ्नो सामाजिक छविलाई प्रयोग गरी ऋण लिएका थिए । तीमध्ये केही स्थानीय कलाकार, पत्रकार, तथा समाजसेवामा क्रियाशील देखिने व्यक्तिहरू छन् । यिनीहरूले ऋण लिँदाका बेला व्यवसाय सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने जस्ता योजना पेस गरे पनि, धेरैले ती योजना कार्यान्वयनमा नल्याइ रकम दुरुपयोग गरेका आरोप लागिरहेका छन् ।
नगरपालिकाका एक कर्मचारीका अनुसार,रकम लिँदा त असाध्यै मीठा कुरा गर्ने, योजना देखाउने, स्वरोजगार खोल्ने कुरा गर्ने – तर अहिले त फोन उठाउँदैनन्, पत्र बुझ्दैनन् । केहीले त सम्पर्क नै तोडेका छन् ।
ऋण नफिर्ता हुँदा नयाँ युवाहरूले अवसर गुमाए
कार्यक्रमको मूल उद्देश्य स्वरोजगारको माध्यमबाट युवालाई आत्मनिर्भर बनाउने रहेको थियो । तर हाल ऋण नफर्किएकोले गर्दा आगामी वर्षका लागि छुट्याइएको रकम वितरण गर्न सकिने अवस्था छैन । जसका कारण नयाँ युवाहरूले ऋण पाएनन्् । एक स्थानीय युवा उद्यमी भन्छन्, “मैले समेत निवेदन दिएको थिएँ, तर ‘पहिलाको रकम उठ्न सकेको छैन’ भनेर अहिले नगरपालिकाले नयाँ आवेदन लिएको छैन । केही प्रभावशालीले पैसा लिएर नफिर्ता गर्दा हामीजस्ता सामान्य युवाको अवसर खेर गएको छ ।”
पारदर्शिताको प्रश्न र कार्यक्रमप्रति जनगुनासो
नगरपालिकाले यो कार्यक्रम पारदर्शी र निष्पक्ष हुने दाबी गर्दै आएको थियो । तर ऋण वितरणमा समेत ‘पहुँचवालालाई प्राथमिकता दिइएको’ भन्दै आलोचना हुन थालेको छ । केही स्थानीयवासीहरूको भनाइमा कार्यक्रम सञ्चालन समितिमा प्रभावशाली र चिनजान भएका व्यक्तिहरूले मात्र लाभ लिएका छन्, जबकि वास्तविक रुपमा स्वरोजगारको योजना बनाएका साधारण युवाहरू बेवास्ता गरिएका छन् ।
कानुनी कारवाही तर्फ नगरको तयारी
नगरपालिकाले हाल ऋण नफिर्ता गर्ने लाभग्राहीहरूमाथि कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ । सम्बन्धित शाखाका अनुसार, सम्झौता अनुसार ऋण समयमै नतिर्नेहरूलाई अब कानुनी नोटिस दिइनेछ र आवश्यक परे सार्वजनिक रूपमा नाम समेत खुलासा गरिनेछ ।
शाखा प्रमुखले भने,, “हामीले अहिलेसम्म सामाजिक जिम्मेवारीको भावना देखाउने अपेक्षा गरेका थियौँ, तर कतिपय लाभग्राहीले धोका दिएका छन् । अब कानुनी प्रक्रिया अघि बढाउने बाहेक विकल्प छैन ।”
योजना राम्रो, कार्यान्वयनमा कमजोरी
नगर युवा स्वरोजगार कार्यक्रमको उद्देश्य साँचो अर्थमा सकारात्मक थियो — स्वरोजगार, उद्यमशीलता, र आत्मनिर्भरता प्रवद्र्धन गर्ने। तर योजनाको कार्यान्वयन, निगरानी, र अनुगमनमा कमजोरी देखिएपछि यसले विवाद निम्त्याएको छ। अब आवश्यक छ कि नगरपालिकाले यस्ता कार्यक्रम अगाडि बढाउँदा अझ कडाइका साथ छानबिन गर्ने, पारदर्शी वितरण प्रणाली लागू गर्ने, र ऋण फिर्ता गराउने कडिकडाउ व्यवस्था गर्ने । नत्र भने यस्ता योजनाहरू ‘चिनजान र पहुँच’ कै खेल बन्ने खतरा रहिरहन्छ ।


