शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका सुनचाँदी व्यवसायी र कालिगढहरु आन्दोलित

बुधवार , जेठ २९, २०८२

सिन्धुली,२८जेठ– सरकारले बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी तथा कालिगडहरूले सिन्धुलीमा आज सांकेतिक बिरोधस्वरुप कालोपट्टी बाधेर आफ्नो ब्यावसाय संचालन गरेका छन । नेपाल सुनचाँदी व्यवसायी, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा नेपाल हस्तकला महासंघले सयुक्त रूपमा विलासी कर र हिराको गहनाको भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन ।

स्वरोजगार कला र सीपसँग जोडिएको पेशालाई प्रोत्साहान गर्नुको सट्टा कानुनले नगदको रुपमा मानेको सुनलाई विलासीको वस्तुको रुपमा कर लगाउदा सुनको मूल्य अझ बढन् गई उपभोक्ता देखि व्यवसायी मारमा पर्ने नेपाल सुनचाँदी ब्यवसायी संघ सिन्धुलीका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र बिश्वकर्माले बताउनुभयो ।

घरेलु कला र सीपमूलक सुनचाँदी पेशाबाट हजारौ कालिगढको परिवारको रोजिरोटी चलेको भन्दैं सरकारले सुनचाँदी पेशाबाटनै पलायन गराउने ढंगबाट काम गरेकाले आफुहरु बाध्य भएर सडकमा आउनुपरेको उहाँले बताउनुभयो ।

सरकारले वजेट भाषणबाट सुनको खरिद विक्रीमा अनिवार्य दुई प्रतिशत कर लगाउदा सुन तोलामा ४ हजार बढी तिर्नुपर्ने हुन्छ । यसबाट उपभोक्ता र व्यवसायी दुवै मारमा पर्ने र व्यवसायबाट समेत पलायन हुने व्यवसायीहरुले बताएका छन् । अहिलेको वजेट भाषणबाट २० हजार भन्दा वढी सुन व्यवसायी र डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

छिमेकि मुलुक भारतमा भन्दा नेपालमा भन्सार दर ४ प्रतिशत बढि भएकोले त्यसलाई घटाएर भारतमा जस्तै ६ प्रतिशत भन्सार दर बनाउन पनि ब्यवसायीहरूले माग गरेका छन ।

संघर्षका कार्यक्रम अनुसार जेठ २९ गते पसल बन्द गरेर चाँबी सहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सुनचाँदी ब्यवसायी संघ सिन्धुलीका अध्यक्ष बिष्णु बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया