शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

विपी राजमार्गमा बेलको व्यापार

बुधवार , जेठ १५, २०८२

सिन्धुली – विपी राजमार्गको किनारमा बेल बेच्ने धेरै देखिन्छ । विपी राजमार्ग अन्र्तगत सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रमा बेल बेच्नेको प्रतिस्पर्धा नै छ । गर्मीयामसँगै बेलको माग बढेपछि यहाँका स्थानिय जंगलबाट बेल संकलन गरी सडक किनारमै बिक्री गर्न थालेका छन् । पहिलेका वर्षहरूमा यिनै बेल जंगलमै खेर जाने गरेका थिए । तर अहिले भने ती बेल प्रतिकिलो ८० रुपैयाँदेखि १५० रुपैयाँसम्म बिक्री भइरहेका छन् ।

विपि राजमार्गको नेपालथोक, खाल्टे, खुर्कोट लगाएतमा स्थानीय व्यापारी र कृषकहरू टोकरी र प्लास्टिकका बोरा भरि बेल लिएर बिक्री गरिरहेका छन् । यात्रुहरू पनि यात्रा अवधीको विश्रामको समयमा यी स्टलहरूमा रोकिएर बेल किन्ने गर्दछन् । कतिपयले घरमा पुगी बेलको जुस बनाउने उद्देश्यले पनि धेरै मात्रामा बेल किनिरहेका छन् ।

राजमार्ग छेउ नेपालथोकमा बेल बेच्दै गर्नुभएको धन बहादुर मोक्तान भन्नुहुन्छ, “यो बेल अघिल्लो वर्षहरूमा त जसलाई मन लाग्यो उसैले टिपेर लैजान्थ्यो, बाँकी त त्यसै जंगलमा खेर जान्थ्यो । अहिले बजार राम्रो भएकोले आफैं टिपेर बेच्न थालेका छौं ।” त्यस्तै अर्का व्यापारी मुना तामाङले बेलको स्वास्थ्य लाभप्रति मानिसहरूको आकर्षण बढ्दै गएको बताउनुभयो । “बेलले पेटको रोगमा फाइदा गर्छ भनेर धेरैले खोजीखोजी किन्छन् । त्यसैले मूल्य पनि राम्रो पाइन्छ,“ उहाँले भन्नुभयो ।

एक समय थियो जब जंगलमा लटरम्म फलेका बेलहरू कसैले नहेरी खेर जान्थे । तर अहिले त्यहि बेल महगो मुल्यमा विक्रि गरिरहेका छन् । सिन्धुली हुँदै तराईलाई काठमाडौँसँग जोड्ने विपी कोइराला राजमार्गमा गर्मीयाम सुरु भएसँगै बेलको व्यापार फस्टाएको छ । स्थानिय बासिन्दाहरू जंगलबाट बेल संकलन गरी राजमार्ग छेउमा बिक्री गर्दै छन् । स्थानीय व्यापारी धन बहादुर रम्तेलले भन्नुभयो, “पहिला त बेल जंगलमै झरिन्थ्यो, गाइबस्तुले खाइदिन्थ्यो। अहिले हामी आफैं जंगलबाट टिपेर ल्याउँछौं र सडक छेउमै बिक्री गर्छौं। दैनिक हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ ।“

बेललाई आयुर्वेदिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । पेट सम्बन्धी समस्या, अपच, गर्मीजन्य रोगमा यो उपयोगी मानिन्छ । यही कारण बेलको माग वर्षेनी बढ्दै गएको छ । गर्मी याममा बेल जुस अत्यन्त उपयोगी हुन् चिकित्सक बताउँछन् । शरीरलाई चिसो राख्न, पाचन सुधार्न र प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोग बेलले सहयोग गर्ने उनीहरु बताउँछन् । बेलमा प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ । यसको सेबनले कब्जियत हटाउने, खाना रुचाउने र शरीरलाई शितलता प्रदान गर्ने गर्छ । औषधीय गुण भएको बेलले बिभिन्न रोगबाट छुटकारा पाउन सहयोग गर्छ ।

१५ वटा बेलका पातलाई ३० ग्राम पानीमा मिलाएर पिउँदा र कालो मरिचको दानालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाई त्यसलाई एउटा सफा कपडाले राखेर उक्त रसलाई सेबन गर्नाले मधुमेह रोगबाट छुटकारा पाउन सकिन्छ यस्तै, पाकेको बेलको सेबन गर्नाले कब्जियत जरैदेखि समाप्त हुने चिकित्सकले बताएका छन् । बेलको सेवनले हाम्रो शरिरमा भएको विकार रगतलाई शुद्धीकरण गर्ने गर्छ । बेलपत्रको रसको सेबनले पनि झाडापखाला निको हुन्छ । सुकाएको बेलको बोक्राले पनि धेरै समस्या समाधान गर्छ । यसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा हालेर काँडा पकाएर खाने गरेमा पेटसम्बन्धी सम्पूर्ण रोग ठीक हुन्छ । र यसले भोकसमेत खुलाउने गर्छ ।

प्रतिक्रिया