शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

विप्लवले विनोद चौधरीलाई बेचे दुई लाख किलो आलु

मंगलवार , जेठ १४, २०८२

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफूहरूले दुई लाख किलो आलु विनोद चौधरीलाई बेचेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालकै धनी उद्योगी विनोद चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताउनुभएको हो ।

“आलु त हामीले विनोद चौधरीलाई नै दियौं र अस्ति उहाँसँग काठमाडौंमा भेट पनि भएको थियो,” उहाँले भन्नुभयो, “उहाँले मेरो लागि त त्यो एउटा मिरेकल जस्तै हो भन्नु भएको थियो ।”

सोचे भन्दा धेरै आलु उत्पादन गरी दिएपछि चौधरी छक्क परेको उहाँले बताउनुभयो । “उहाँलाई लागेको हुँदो हो यिनीहरूले बढीमा बिस–तिस हजार किलो आलु उत्पादन गर्ने भनेर,” उहाँले भन्नुभयो, “तर हामीले भनेको टार्गेट भन्दा बढी उहाँलाई उपलब्ध गराएका थियौं, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौं ।”

चौधरीले हालसम्म आफूलाई आलु सप्लाइ गर्ने सबैभन्दा ठूलो इकाइ नेकपा रहेको कुरापनि आफूसँग गरेको विप्लवले बताउनुभयो । पछिल्लो समय आफूले कैलालीका आलु किसानसँग अन्तरक्रिया गरेपछि उनीहरू उत्साहित भएको उहाँले बताउनुभयो ।

पूँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौंसहित नेपालका विभिन्न तीन ठाउँमा साना उद्योगहरूको सुरूवात गरेको र ती सबै नाफामा चलिरहेको उहाँले बताउनुभयो । कतिपयले विप्लवको पार्टीलाई उत्पादन दिनु हुन्न र उनीहरूले खाइदिन्छ भन्ने जस्ता रूढीबादी सोचहरू पाल्ने गरेको भन्दै उहाँले गुनासो गर्नुभयो ।

पहाडमा भेडा पाल्ने किसानलाई माओवादीकै मान्छेहरूले विप्लवको पार्टीले ठग्छ भनेर रूने नै बनाएको उहाँले बताउनुभयो । “भेडा पाल्ने किसानलाई रुने नै बनाएका छन् के, त्यो पनि माओवादी समर्थकहरू नै गएर । नेकपालाई दिनुहुन्न, उनीहरू ठगी हाल्छन् अब तेरो भेडापनि गयो पैसा पनि गयो भनेछन्,” उहाँले भन्नुभयो, “म ठिक्क त्यहाँ पुगे र हामीले एकैपटक सबै पैसा दिन सक्दैनौं खण्डखण्डमा दिन्छौं भनेपछि उहाँले विश्वास गर्नुभयो ।”

प्रतिक्रिया