शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली उद्योग वाणिज्य संघ नेपालकै सर्वोत्कृष्ट

शुक्रवार , बैशाख १२, २०८२

सिन्धुली – नेपाल उद्योग वाणिज्य महासंघले संस्थागत सामाजिक उत्तरदायित्व क्षेत्रमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै उद्योग वाणिज्य संघ सिन्धुलीलाई प्रदान गरिएको सम्मानले सम्पूर्ण सिन्धुलीवासीमा गर्व र उत्साहको लहर फैलिएको छ ।

देशभरिका उद्योग वाणिज्य संघ मध्ये सिन्धुली उद्योग वाणिज्य संघले संस्थागत सामाजिक उत्तरदायित्व क्षेत्रमा उत्कृष्ट रहेको भन्दै सम्मान गरेको हो । सामाजिक, शैक्षिक, स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आएको संघलाई केन्द्रबाट यस्तो प्रतिष्ठित सम्मान प्राप्त भएपछि विहिबार एक कार्यक्रमबीच संघका पदाधिकारी, सदस्य, पुर्व कार्यसमिति, उद्योगी–व्यवसायी तथा पत्रकारबीच खुसी साटासाट गरिएको थियो । नयाँ वर्ष २०८२ को शुभकामना आदनप्रदान साथै संघले पाएको सम्मानको खुसि साटासाट गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष अर्जुक श्रेष्ठले संघको पुर्व कार्यसमितिले गरेको राम्रो कामको फल पाएको भन्दै सहयोगि सम्पूर्णलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “हामीले व्यवसायसँगै समुदाय प्रतिको जिम्मेवारीलाई सधैं प्राथमिकता दिएका छौं । यो सम्मान हाम्रो साझा प्रयासको मान्यता हो । आगामी दिनमा झनै प्रभावकारी र दीगो सामाजिक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौं ।”सिन्धुली उद्योग वाणिज्य संघले विगत वर्षहरूमा विपन्न निशुल्क ब्लड बैंक सञ्चालन, दमकल खरिद, महिला उद्यमशीलता प्रवद्र्धन जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको उहाँ बताउनुहुन्छ । “देशभरिका संघमध्ये उत्कृष्ट ठहरिँदै हामीलाई दिइएको यो सम्मान सम्पूर्ण सिन्धुलीवासीको नाममा समर्पित गर्दछौं । हामीले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, वातावरणीय संरक्षण लगायतका क्षेत्रमा निरन्तर कार्य गर्दै आएका छौं । यो सम्मानले हामीलाई अझ ठूलो जिम्मेवारीसहित सामाजिक उत्तरदायित्वमा समर्पित रहन प्रेरणा दिएको छ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो । उक्त सम्मानले संघको योगदानलाई राष्ट्रिय तहमा मान्यता दिलाएको भन्दै स्थानीयबासी, उद्यमी तथा नागरिक समाजमा गर्वको भावना झल्किएको छ ।

विगत केही वर्षयता उद्योग वाणिज्य संघ, सिन्धुलीले ग्रामीण विद्यालयहरूमा महिला सशक्तिकरण तालिम, स्वास्थ्य शिविर, विपद् प्रभावित क्षेत्रहरूमा राहत वितरणजस्ता उल्लेखनीय कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले आफ्नो तर्फबाट सबै सदस्य, साझेदार, स्वयंसेवक तथा समुदायलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघकाबाट प्रदान गरिएको उक्त सम्मानले उद्योग वाणिज्य संघ, सिन्धुलीलाई मात्र नभई सम्पूर्ण सिन्धुली जिल्लालाई नै गौरवान्वित बनाएको स्थानीयबासीले बताएका छन् ।

प्रतिक्रिया