शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

राष्ट्र बैंकको गभर्नरमा युवराज खतिवडाको चर्चा

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा अवरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि गभर्नर भइसकेका युवराज खतिवडालाई अघि सार्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यसअघि गभर्नरको कार्यकाल पूरा गरिसक्नुभएको खतिवडालाई अर्थमन्त्री र राजदूत समेत बनाइसक्नुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा एमाले र काँग्रेस सहमत भएपछि यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । भट्टलाई गभर्नर बनाउने लगभग निश्चित भएपछि उहाँले आफ्नो पदबाट राजीनामा पनि दिइसक्नुभएको थियो । तर, लगत्तै भट्टलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर भएपछि उहाँको नियुक्ति तत्कालको लागि रोकिएको छ ।

भट्टको नियुक्ति रोकिएसँगै राष्ट्र बैंक अझै केही समय कायममुकायमको नेतृत्वमा चल्नुपर्ने अवस्था आएकोले सरकारमाथि गभर्नर छिटो नियुक्त गर्नुपर्ने दबाब छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल पूरा गरेर विदा भइसक्नुभएको छ र अहिले राष्ट्र बैंक कामु गभर्नरको नेतृत्वमा चलिरहेको छ ।

भट्टको नियुक्ति प्रक्रिया अदालती झमेलामा अल्झिएपछि प्रधानमन्त्री ओलीले आफ्ना प्रिय पात्र खतिवडालाई नै गभर्नर बनाउने प्रस्ताव काँग्रेसलाई पठाउने तयारी गरिरहेको स्रोत बताउँछ । यसअघि राष्ट्र बैंकको गभर्नर भइसक्नुभएका खतिवडा फेरि गभर्नर बन्न कानुनले रोक्दैन किनकि राष्ट्र बैंक ऐनमा गभर्नर दोहोरिन नपाउने प्रावधान छैन ।

प्रधानमन्त्री ओलीले देशको कमजोर अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सक्ने र अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्न सक्ने पात्रको रुपमा दावी गर्दै खतिवडालाई अगाडि सार्ने तयारी गरिरहेको स्रोत बताउँछ । यसको बदलामा रिक्त हुन लागेका संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारी राजदूतको भागबण्डामा काँग्रेसलाई भाग दिने प्रस्ताव गर्ने तयारी प्रधानमन्त्रीले गरेको बताइएको छ ।

 

प्रतिक्रिया