शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

भित्रियो ४० करोड बराबरको रङ

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौँ – रङहरूको पर्व हो, होली । यो पर्वमा आफन्तजन र साथीभाइबिच एकापसमा रङ दलेर खुसी साटासाट गरिन्छ । नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट आयात हुँदै आएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको रङ साढे ४० करोड बराबरको रङ आयात भएको छ ।

२०८१ माघ मसान्तसम्मको अवधिमा ४० करोड ४८ लाख ५७ हजार रुपैयाँको ७ लाख ७१ हजार १८३ किलो रङ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त रङ आयात हुँदा ८ करोड ७ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन रङ सबैभन्दा बढी होलीमै खपत हुन्छ ।

गत वर्षको सोही अवधिमा ३७ करोड ६७ लाख ३ हजार रुपैयाँको ६ लाख ४६ हजार ३४६ किलो रङ आयात भएको थियो । उक्त परिमाणमा रङ आयात हुँदा ७ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

साथै सो अवधिमा ८३ लाख ३१ हजार रुपैयाँको ४१२४१ किलो सिन्दूर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

चालु वर्षको माघ मसान्तसम्म १० मुलुकबाट रङ आयात भएको विभागको तथ्यांकले उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ३७ करोड २७ लाख १५ हजार रुपैयाँ बराबरको ७ लाख ४६ हजार १७४ किलो रङ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

दोस्रोमा चीनबाट आयात भएको छ । चीनबाट १ करोड ७१ लाख ७६ हजार रुपैयाँको २४ हजार ५५१ किलो ग्राम रङ आयात भएको छ । रङ आयात हुने तेस्रो मुलुकमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाबाट७३ लाख ६८ हजार रुपैयाँको १ हजार ७५० किलो रङ आयात भएको छ ।

नेपालमा यस्तो रङ होली मात्र नभएर तिहारमा पनि प्रयोग हुँदै आएको छ । साथै उक्त रङ अन्य प्रयोजनमा पनि उपयोग हुने गरेको छ । विभागको तथ्यांक हेर्ने हो भने वार्षिक रूपमा ठुलो परिमाणमा आयात भएको छ । यस्तो रङ वार्षिक ६० करोडभन्दा बढी मूल्यको आयात हुने गरेको छ ।

प्रतिक्रिया