शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा महिला श्रमिकलाई ज्यालामा विभेद

शनिवार , फाल्गुण २४, २०८१

सिन्धुली, – कमलामाई नगरपालिका–२ की २१ वर्षीया खिनमाया मगरको दैनिक गुजारा गाउँघरमा अर्काको मेलापात गर्दै बित्ने गरेको छ । चार वर्षभन्दा बढी समयदेखि गाउँघरमै कृषि मजदुरको काम गर्दै आएकी खिनमाया ज्यालामा भने हेपिने गरेको गुनासो गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “गाउँघरमा मेलापात होस् वा अन्य जोखिमपूर्ण काम, हामी पुरुषसरह सँगै एउटै काम गर्छाैं तर ज्याला भने पुरुषको भन्दा झन्डै आधा कम हुन्छ । समान प्रकृतिको एउटै कामको ज्यालामा महिला कामदार हेपिँदै आएका छन् ।”

समान प्रकृतिको एउटै काममा महिलाले छ सय ज्याला थाप्दा पुरुषले एक हजार रुपैयाँसम्म लिने गरेको गुनासो उहाँको छ । ऐनले समान काममा महिला र पुरुषलाई समान ज्याला भने पनि महिला कामदारले त्यो महसुस गर्न नपाएको र विभेद हुने गरेको भनाइ उहाँको छ । समाजले महिलालाई हेर्ने दृष्टिकोण फरक हुँदा एउटै जोखिमपूर्ण काम गर्दा पनि ज्यालामा विभेद हुँदै आएको महिला कामदार बताउँछन् । “काम उत्तिकै हो । श्रीमान् मिस्त्री काम गर्नुहुन्छ, म त्यसका लागि चाहिने मसला तयार गर्छु,” रमिला बिसंखेले भन्नुभयो, “काम नगरे छाक टार्न समस्या हुने भएकाले असमान ज्यालामा पनि काम गर्न बाध्य हुनु परेको छ । पुरुषले बढी ज्याला पाउने भएकाले घरको कामसमेत सबै महिलाले गर्नुपर्ने बाध्यता पर्छ ।”

खिनमायाजस्ता सयौँ महिला कामदार असमान ज्यालाबाट पीडित छन् । घर निर्माण, सडक, खेतबारी काम होस् या अन्य कुनै सबैमा महिलालाई कम ज्याला दिने गरिएको छ । “हिउदमा होस् या वर्षायाम, सबै महिना महिला कामदारलाई पुरुषसरह ज्याला दिइँदैन,” महिला कामदार रमिलाले भन्नुभयो, “काममा उत्तिकै दलिनुपर्छ, ज्याला भने थोरै पाइन्छ ।” पहिलादेखिकै चलन भएकाले ज्याला कम दिने गरेको काम लगाउनेहरूको भनाइ छ । महिला कामदारले भन्दा बढी जोखिमका काम गर्ने भएकाले पुरुष कामदारले ज्याला बढी लिँदै आएको स्थानीयको भनाइ पाइन्छ ।

नेपाल ट्रेड युनियन काँग्रेसमा आबद्ध श्रमिक संघ सिन्धुलीका जिल्ला अध्यक्ष अश्विन राई गाउँघरमा अझै समान प्रकृतिको काममा महिला र पुरुष कामदारलाई ज्यालामा विभेद हुँदै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ऐनले समान काममा समान ज्याला भनेको छ तर त्यो गाउँघरमा लागू भएको पाइँदैन ।” महिलालाई निजी क्षेत्रमा मात्र हैन, सरकारी काममा समेत असमान ज्याला छ । उपभोक्ता समितिमार्फत खनिएका सडकमा पनि पुरुषलाई नौ सयदेखि एक हजार रुपियाँसम्म र महिलालाई छदेखि सात सय रुपैयाँ ज्याला दिइने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया