सिन्धुली, – सिन्धुलीमा बागमति प्रदेश स्तरिय महिला कृषि मेला हुने भएको छ । ११५ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस मार्च ८ को अवसरमा सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड सिन्धुलीको आयोजना तथा मुना कृषि लिमिटेड ललितपुरको सह आयोजनामा ३ दिने महिला कृषि मेला संचालन गर्न लागीएको हो ।
फागुन २३, २४ र २५ गते संचालन हुने मेला आयोजक समितिले जनाएको छ । कृषि उत्पादन, उद्यमशिलता र ब्यवसायिक क्षमता अभिबृद्धिमा महिलाको सहभागिता बढोत्तरी गर्ने, कृषिजन्य वस्तुहरुको बजारीकरणमा गुणस्तरियता र ब्यवसायिक मुल्य मान्यता स्थापितको लागि सहयोग पु¥याउने, कृषि वस्तुसंग सम्बन्धित उपजहरुको संकलन प्रशोधन र बजारिकरण सम्बन्धी नितिगत सहजिकरण गर्ने गराउने उदेश्यले मेलाको आयोजना गरिएको मेला आयोजना समिति संयोजक बिमला थापाले जानकारी गराउनुभयो ।
मेलामा कम्तिमा ३६ वटा उद्यम सँग सम्बन्धित स्टलहरु रहनेछन भने ५० जनाभन्दा बढी महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ ।
योगाभ्यास, बालबालिकाहरुका लागि मनोरञ्जनात्मक गतिविधिहरु, विभिन्न प्रतियोगिता, विद्यार्थीहरुको कृषिसँग सम्बन्धित चित्रकला प्रतियोगिता, रैथाने खाना, प्रविधि र सीपको प्रस्तुती, नवप्रवर्तन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, महिलालाई उद्यममा अवसर र चुनौती विषक छलफल, महिला नेतृत्व र उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रम समेत मेलाका मुख्य आकर्षण हुनेछन् ।
आयोजक समितिले मेलामा तीन दिनसम्म १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरेको छ । उद्यमी, किसान, व्यवसायी, विद्यार्थी, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहने बताइएको छ ।
बागमती प्रदेश सरकार, स्थानीय सरकार, कृषि विकास कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, सिड्स नेपाल, मुना कृषि लिमिटेड लगायत विभिन्न सरकारी–गैरसरकारी संघसंस्थाहरुको सहयोग तथा सौगात लद्यु उद्यम सहकारी संस्था, सिन्धुलीको अगुवाईमा संचालन हुने मेलामा जिल्लाका ९ वटै पालिकाका प्रमुख तथा उद्यमीहरु देखि बागमती प्रदेशका मन्त्रीहरु र बागमती प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।