सिन्धुली – सिन्धुलीका जुनार कृषक यति बेला बगैँचा व्यवस्थापनमा व्यस्त देखिन्छन् । यस बर्षको सिजनको जुनार टिपेर सकिए लगत्तै जिल्लाका जुनार किसान बगैँचा व्यवस्थापनमा जुटेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सिन्धुलीका प्रमुख वरिष्ठ कृषि अधिकृत यामकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार किसानहरु जुनारको बोट काटछाट साथै गोडमेलमा व्यस्त छन् । उहाँका अनुसार यो समय जुनारको बगैचामा सिचाई गर्ने समय पनि हो । प्राविधिकसहितको टोलीले अहिले किसानलाई जुनारको बगैँचा व्यवस्थापन गर्ने तरिका सिकाइ रहेको उहाँले बताउनुभयो ।
जिल्लाको गोलन्जोर गाउँपालिकामा बगैँचा व्यवस्थापनको काम भइरहेको छ । किसानले आ–आफ्नो बगैँचाको व्यवस्थापन गरिरहेका छन् । “बगैँचा व्यवस्थापनको मुख्य समय यही हो, नयाँ पालुवा नपलाउँदै व्यवस्थापन गर्नुपर्छ । त्यसैले हामीले यो समयलाई अभियानकै रूपमा अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । जुनारको बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टी फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । “यी चार काम व्यवस्थापनको मुख्य काम हो, यो काम गर्ने भनेकै बिरुवा नपलाएको र सुषुप्त भएको बेलामा गर्नुपर्छ ।” फल दिइरहेको ठूला बोट जसले फल दिइरहेका छन्, त्यस्ता बोट फल सकिएपछि मात्रै व्यवस्थापन गरिन्छ । फल नदिएका साना बगैँचाको व्यवस्थापन गर्न खर्च र समय कम लाग्छ भने, ठूला बोटको व्यवस्थापनमा खर्च र समय पनि बढी लाग्ने उहाँको भनाइ छ ।
सिन्धुलीका जुनार कृषकले यसबर्ष ३६ करोड ३४ लाख १० हजार रुपैयाँको जुनार विक्रि गरेका छन् । जिल्लामा ७ सय ५० हेक्टरमा जुनार खेती रहेको छ । सिन्धुलीमा झण्डै दुइ हजार बढी जुनार कृषक रहेको कृषि अधिकृत श्रेष्ठले बताउनुभयो । यस वर्ष जुनार जोन क्षेत्रमा मात्रै नौ हजार सात सय ७३ मेट्रिक टन जुनार उत्पादन भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ३१.८३ प्रतिशत किसानको उपभोग तथा रोग किराको संक्रमणले हुन गएको क्षति कटाएर छ हजार छ सय ६२ मेट्रिक टन जुनारको फल बजारमा बिक्री भएको थियो । यस वर्षको क्रप कटिङ कार्यक्रमअन्तर्गत सुपरजोन क्षेत्रभित्रका किसानलाई नयाँ प्रविधि अपनाउन प्रेरित गरिएको थियो । यस प्रविधिबाट जुनारको उत्पादकत्व १३.०३ मेट्रिक टन प्रति हेक्टर पुगेको वरिष्ठ कृषि अधिकृतले बताउनुभयो ।