सिन्धुली – पछिल्लो समय नेपालमा अनलाइन सट्टेबाजीको लतले विकराल रूप लिँदै गएको छ । विशेषगरी वानएक्सबेट जस्ता अनलाइन बेटिङ साइटहरूको कारण देशभरका हजारौँ परिवारको जीवन तहसनहस भएको छ । सिन्धुलीका युवाहरु पनि अनलाइन सट्टेबाजीको लतबाट अछुतो रहन सकेका छैनन् । यहाँका धेरै युवा र परिवारका मुख्य कमाउने सदस्यहरू सट्टेबाजीमा फस्दा घरबार उजाड भएको छ । ठूलो नोक्सानी व्यहोरेका कतिपय व्यक्तिहरू अब एक्सबेटको एजेन्ट बनेर नै जीविका चलाउने अवस्थामा पुगेका छन् ।
सिन्धुलीका सदरमुकाम सिंधुलीमाढी, भिमान, दुधौली लगायतका क्षेत्रमा पछिल्लो समय एक्सबेटमा सट्टाबाजी गर्नेहरूको संख्या ह्वात्तै बढेको छ । सुरुमा रमाइलो र सजिलै पैसा कमाउने माध्यम ठानेर यसमा लागेको धेरै युवाहरू अहिले ठूलो संकटमा परेका छन् । जुवा खेल्ने क्रममा धेरैले बैंकबाट ऋण लिएका छन्, कतिपयले त आफन्तसँग सापट मागेर खेलेका छन् । तर, सट्टेबाजीमा हार्दै जाँदा उनीहरू ऋणमा डुबेका छन् ।
वानएक्सबेटको लतमा फसेका सिन्धुलीका एक युवकले भने, “मैले पहिलोपटक एक्सबेटमा खेल्दा एक हजार लगानी गरेको थिएँ । केही दिनमै १० हजार जितेपछि मलाई झन् खेल्न मन लाग्यो । पछि ठूलो पैसा जित्छु भन्ने सोचेर बैंकबाट ऋण लिएँ । तर, अन्ततः मैले ३ लाखभन्दा बढी गुमाएँ । अहिले तिर्न नसकेर घरमै लुकी बसेको छु ।” यो समस्या केवल एकजनाको मात्र होइन । सिन्धुलीका सयौँ युवाहरू अहिले यस्तै परिस्थितिबाट गुज्रिरहेका छन् ।
वानएक्सबेटमा सट्टेबाजी खेलेर नोक्सानी व्यहोरेका धेरै सिन्धुलीवासीहरू अहिले एजेन्ट बनेर पैसा कमाउने प्रयासमा छन् । एक्सबेटले एजेन्टहरूलाई नयाँ खेलाडीहरू भिœयाए बापत कमिसन दिने गर्छ । जसले गर्दा धेरै युवाहरू अरूलाई पनि यो खेलमा संलग्न गराइरहेका छन् । सिन्धुलीका विभिन्न ठाउँहरूमा खुलेआम एजेन्टहरू सक्रिय देखिन थालेका छन् । कतिपय क्याफे तथा मोबाइल पसलका सञ्चालकहरू समेत एजेन्ट बनेर अरूलाई बेटिङ खेल्न प्रोत्साहित गरिरहेका छन् । एकजना पूर्व–सट्टेबाज एजेन्टका भने, “पहिले म आफैं खेलेर ठूलो घाटामा परेँ । तर, पछि बुझेँ कि एजेन्ट बनेर नयाँ खेलाडी ल्याउँदा पैसा कमाउन सकिन्छ । अहिले म दिनभरि एक्सबेटमा नयाँ व्यक्तिहरूलाई दर्ता गराउने काम गर्छु ।”
यसरी, वानएक्सबेट अब सिन्धुलीमा रोजगारीको नाममा विकृत धन्दा बन्न थालेको छ । नेपालमा सट्टेबाजी अवैध वानमानिए पनि एक्सबेट जस्ता अनलाइन प्लेटफर्महरू अझै सञ्चालन भइरहेका छन् । सरकारले केही प्रयास गरे पनि प्रभावकारी रूपमा यसलाई रोक्न सकेको छैन । जिल्ला प्रहरी कार्याल्य सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल खड्काको अनुसार सिन्धुली प्रहरी अनलाइन सट्टेबाजी नियन्त्रणका लागि सचेत छ । उहाँले भन्नुभयो, “अहिलेसम्म अनलाइन बेटिङ अपराधमा भने पक्राउ परेका छैनन् ।” वानएक्सबेट जस्ता अनलाइन सट्टेबाजी साइटहरू नेपाली समाजका लागि ठूलो खतरा बनिरहेका छन् । सिन्धुली लगायत देशभरिका धेरै परिवारहरू अहिले आर्थिक संकटमा छन् । यदि सरकार, स्थानीय प्रशासन र नागरिकहरूले मिलेर यसको रोकथाम गरेनन् भने भविष्यमा यो समस्या अझै विकराल बन्नेछ । सट्टेबाजीको यो महामारीलाई रोक्न सरकारको कडा हस्तक्षेप जरुरी छ ।