सिन्धुली – सिन्धुलीको बाटो भएर यात्रा गर्ने यात्रुहरुको प्रमुख कोसेली बनेको छ, सिन्धुलीको जुनार । त्यसैले यात्रुहरु ओहोरदोहोरको क्रममा दुई–चार केजी भए पनि जुनार बोक्न छुटाउँदैनन् । यतिबेला सिन्धुली जिल्लाको गोलन्जार गाउँपालिका ५ खनियाखर्क बजार जुनार र सुन्तलाले पहेलपुर भएको छ ।
काठमाडौं–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको यति बेलाको मुख्य कोसेली नै जुनार र सुन्तला बनेको छ । बिपी राजमार्गमा यात्रा गर्ने सवारी साधनका यात्रुहरु जुनार किन्नैका लागि भए पनि केही समय खनियाँखर्कमा विश्राम गर्ने गर्दछन् ।
यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौँ र भारतका विभिन्न सहरसम्म लोकप्रियता पाएको छ । राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा यस क्षेत्रका किसान र व्यापारीहरूको जीवन स्तर समेत उकासिएको छ । पूर्वी तराईका विभिन्न जिल्लाबाट यहि राजमार्ग हुदै काठमाडौं आवात जावत गर्ने दैनिक हजारौ साना ठूला सवारीका यात्रु नै जुनारको मुख्य ग्राहक हुन् ।
विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रीका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन् । खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन् ।
विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रीका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन् । खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन् । किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन् । खनियखर्कमा हाल १२० देखि १४० रुपैया प्रति किलोसम्ममा जुनारको कारोबार भइरहेको छ ।
महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् । जिल्लाको रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखेला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोनअन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा वार्षिक एक लाख बढी जुनार सुन्तला बिक्री गर्ने किसानको संख्या दुई हजार बढी छ । एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गर्दछ । जिल्लामा एउटै बोटमा छ हजार दानासम्म फलेको रेर्कड छ ।
सिन्धुलीका अतिरिक्त उदयपुर, ओखलढुंगा, भोजपुर, धनकुटा र रामेछापमा व्यावसायिकरूपमा जुनार खेती विस्तार हुँदै गएको छ । सिन्धुली जिल्लामा अहिले वार्षिकरूपमा ५० करोड मूल्य बराबरको जुनार उत्पादन हुने गरेको छ । उत्पादित मध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हुँदैआएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको बताइन्छ । सिन्धुलीका ९ वटै स्थानीय तहमा आंशिकरूपमा जुनार खेती हुँदै आएको छ । पछिल्लो समय विभिन्न संक्रमणले फल कुहिने समस्याले किसानमा जुनार नै मासिने हो कि भन्ने त्रास फैलिएको छ । जिल्लामा कुल १३४५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएकोमा ७२५ हेक्टर उत्पादनशिल क्षेत्र रहेको तथ्यांक छ ।