सिन्धुली – गोलन्जोर गाउँपालिकाका इन्द्र थापाले जुनार खेती गर्नुभएको झण्डै ३५ वर्ष भयो । उहाँले गोदार थापा कृषि तथा पशुपंक्षी फर्म नै दर्ता गरेर व्यवसायी रुपमा जुनार खेती गर्दै आउनुभएको छ । उहाँको अहिले ११ विगाह जमिनमा जुनार खेती छ । जुनार खेती गदै आउनु भएका थापा हाल सम्म सरकारी अनुदान नपाएको गुनासो गर्नुहुन्छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जुनार किसानलाई अनुदान रकम तथा कृषि सामग्री वितरण गर्दै आएको छ । थापाले आर्थिक वर्ष २०८०/८१ मा साना सिचाई कार्यक्रकको लागि सम्पूर्ण कागजात पेस गरेको बताउनुभयो । अगाडि वर्ष आफुले कुनै पनि अनुदान नलिएको बताउँदै उहाँले वर्षेनी एउटै किसानले मात्र अनुदान पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले एउटै किसानलाई अनुदान दिने गरेको छ । मैले ३५ वर्ष देखि जुनार खेती गदै आएको छु । हाल सम्म मैले कुनै अनुदान पाएको छैन । अनुदानको लागि वर्षेनी आवेदन दिएपनि अनुदान पाएको छैन ।”
वास्तविक किसानलाई नभई राजनितिक दलमा आबद्ध नेताका आफन्त तथा पहुँच हुनेलाई मात्र अनुदान रकम दिने गरेको किसानले आरोप लगाएका छन् । सिन्धुलीमा कृषि अनुदान लिनेहरूको दोस्रो विवरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा कृषि अनुदान लिनेहरूको किसान र आर्थिक वर्ष २०७९/८० मा अनुदान लिने एउटै किसान दोहोरिएको गोलन्जोर गाउँपालिकाका एक स्थानीयले बताए । ५ वर्षको अवधिमा कृषि अनुदान लिने अधिकांश व्यक्ति बारम्बार दोहोरिएको उनले बताए । ती स्थानियले भने, “एकै आर्थिक वर्षमा कसैले दुई पटकसम्म १२ लाख अनुदान बुझेका छन्, भने धेरैजसो किसानहरूले ५ वर्षमा एक पटक पनि अनुदान पाउन सकेका छैनन् ।” यसले कृषि अनुदान वितरणमा मिलेमतो भएको संकेत गर्ने उनले बताए । कृषि अनुदानको दुरुप्रयोग भएको उनले आरोप लगाए ।
जिल्लाको गोलन्जोर गाउँपालिकाका कृषकले मात्रै अनुदान लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सार्वजनिक गरेको अनुदान लिने कृषकले विवरणमा देखिन्छ । वर्षेनी अधिकाशं कृषक दोहोरिएउका छन् । कृषि अनुदान लिनेमा जिल्लाको गोलन्जोर गाउँपालिका भित्रका मात्रै कृषक देखिन्छन् । पाँच वर्षको तथ्याकं हेर्दा अधिकाशं कृषकले दोहोर्याएर अनुदान लिएका छन् ।
जिल्लाको कमलामाई नगरपालिका–३, गोलन्जोर गाउपालिका–१, २, ३, ४, ५, ६, तीनपाटन गाउँपालिका–७ र सुनकोशी गाउँपालिका–७ परियोजनाको कार्य क्षेत्र हो । परियोजनाको कार्य क्षेत्रमा जुनार खेतीले दस हजार पाँच सय हेक्टर ढाकेको छ । जिल्लामा जुनार खेती हुँदै आएको कुल क्षेत्रफल करिब १३ हजार हेक्टर रहेको छ । जुनार क्षेत्रको आधुनिकीकरण सँगै त्यसको विकासका लागी विशेष कार्यक्रम सञ्चालन गर्ने परियोजन संचालन भएको हो । यो क्षेत्र सिन्धुलीको जुनार क्षेत्रको रुपमा स्थापित छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्राविधिक सहयोग गरी किसानलाई जुनार उत्पादनमा प्रोत्साहन गरिरहेको छ ।