सिन्धुली, – आफुले गरेको पेशा बाट आम्दानी सँगै सन्तुष्टी पनि भए पछि पेशालाई निरन्तरता दिन उमेर बाधक नहुनेमा सिन्धुलीका एक किसान उदाहरण बनेकाछन् । जिल्लाको कमलामाई नगरपालिका ४ कौशलटारका किसान नर बहादुर पाण्डे उमेरले ७० बर्ष कटिसके पनि आफ्नो साग तथा तरकारी उत्पादन गर्ने पेशालाई निरन्तरता दिएर उदाहरण बन्नु भएको हो । २० वर्ष अघि देखि रायोको साग र अन्य तरकारीको उत्पादन गर्दै आउनु भएको बृद्ध किसान पाण्डेलाई अझ अर्गानीक उत्पादन गर्न हिम्मत बढे पनि ग्राहकले अर्गानिक पहिचान गर्न नसकेकोमा भने गुनासो छ ।
२० बर्ष देखिको निरन्तरताले बेर्ना राख्ने, बिरुवा रोप्ने समय एकिन गर्न देखि माटोको समेत पहिचान गर्न सक्ने अवस्थामा पुगी सक्नु भएका किसान पाण्डेको उत्पादनले बजार भने पाईरहेको छ । सदरमुकाम सिन्धुलीमाढी नजिकै रहेर पनि छिमेकीका खेतबारी बाँझै बसी रहेका र आफ्नो उमेरले नेटो काटिसकेको समयमा गरेको कामको सिको कसैले नगरेकोमा किसान पाण्डेको चिन्ता छ । राज्यका निकायले उन्नत खेती गर्ने किसानलाई सहयोग गर्लान भन्ने आश नराखेका किसान पाण्डेलाई गुणस्तरीय मल बिउँ नपाउदा र स्थानिय जनप्रतिनिधीले मुल्यांकन गर्न नसकेकोमा भने अर्को दुःखेसो छ ।
आफुले गरेको पेशाको निरन्तरता देखेर आफ्नो जेठो छोराले पनि छुट्टै खेती विस्तार गरी एक सिजनमा उत्पादन गरेको साग तरकारी बाट बर्ष दिनको घर खर्च चलाउन सकेकोमा पाण्डे सन्तुष्ट देखिनु भएको छ । यद्यपी अहिलेको बजार किसानमुखी नभएको अर्थात किसानले उचित मुल्य नपाएकोमा भने राज्यका निकायको ध्यान जान नसकेकोमा उहाँको चिन्ता छ । किसान पाण्डेले मौरी पालन र पशुपालनलाई समेत निरन्तरता दिइरहनु भएको छ ।
किसान पाण्डेले उत्पादन गर्नुभएको विभिन्न किसिमका साग तरकारी अर्गानिक रहेको र अहिले ग्राहकले विश्वास गर्न थालेको स्थानिय युवा मोदनाथ तिमल्सेनाको भनाई छ ।