सिन्धुली – “कान्छी बदाम, बदाम आयो, बदाम” माइकमा बजाउँदै ठेलामा बदाम बेचेको झण्डै एक दशक हुनै लाग्यो । त्यहि ठेलामा कहिले चटपटे त कहिले फलफुल पनि बेच्ने ६० वर्षिय धुर्व शाह आफ्नो पेशामा खुसि हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काम नगरी बस्नै सकिन्न, अहिले बदामको सिजन छ त्यसैले बदाम बेच्दै छु । सिजन सकिएपछि चट्पटे बेच्छु ।”
शाह ठेलामा बदाम लिएर कहिले सिन्धुलीमाढीको स्टलबजार, एक नम्बर, दुइ नम्बर बजार, खुल्ला मन्च र ढुंग्रेबास चोकमा पुग्नुहुन्छ । अलि बढी मानिसहरुको आवतजावत हुने स्थानमा शाहलाई देखिन्छ । उहाँ भन्नुहुन्छ, “ठेलामा बदाम लिएर एकै ठाउँमा बसेर बेच्दा त्यत्ति धेरै विक्री हुन्न त्यसैले बजार, चोक अलि बढी मान्छे हुने ठाउँमा पुग्छु । साझँमा ढुंग्रेबास चोकमा हुन्छु भने दिउँसो एक नम्बर, दुइ नम्बर बजार, खुल्लामन्चमा हुन्छु ।” कान्छी बदाम भनेर माइकमा भने पनि मम्फली बदाम बेच्ने गरेको उहाँले सुनाउनुभयो । एक माना बदामको ५० रुपैयाँ लिनुहुन्छ । शाहले बदाम बेचेरै महिनाको ३० हजार बढी कमाउनुहुन्छ । ३ दिनमा एक बोरा बदाम बेच्ने गरेको उहाँले सुनाउनुभयो । एक बोरा बदाम बेचेबापत झण्डै तीन हजार बढी फाइदा हुन्छ । विभिन्न ठाउँमा पुगेर होल्सेलमा बदाम ल्याएर विक्री गर्ने गरेको उहाँले सुनाउनुभयो । माघ अन्तिम सम्म हुने बदामको सिजन सकिएपछि त्यहि ठेलामा चट्पटे बेच्ने उहाँले बताउनुभयो । काम गरी खान उमेर बाधक हुँदैन भन्ने शाहको जीवनी धेरैका लागि प्रेरणा बन्ने गरेको छ । उहाँ भन्नुहुन्छ, “सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।”
शाहको दम्पती २०५२ सालमा मिर्चैयाबाट सिन्धुली आउनुभएको थियो । कामको खोजीमा सिन्धुली आउनुभएको साहले शान्तिनगरचोकमा चट्पटे व्यवसाय सुरु गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “आफै केहि गरौँ भनेर चटपटे व्यवसाय सुरु गरे, व्यवसाय पनि राम्रो चलिरहेको थियो । मैले बनाएको चटपटे भाइरल नै थियो । मैले चटपटे बेच्ने ठाउँ नै चटपटे चोक भनेर चिन्थ्यो । झण्डै एक दशक चटपटे व्यवसाय गरे, व्यवसाय गरिरहेको ठाउँमा अर्को व्यवसाय गर्ने भन्दै मलाई ठाउँ दिएनन् । त्यसपछि मैले त्यहि फलफुल बेच्न सुरु गरे । केही समयपछि त्यहि ठाउँमा सटर निर्माण गरिन् थालियो । भाडा तिर्न नसकिने भएकाले मैले सटर लिएर व्यवसाय गरिन् । ठेला लिएर ठाउँठाउँमा चटपटे बेच्न सुरु गरे ।”
शाहका तीन वटा छोरा छन् । छोराहरुपनि सिन्धुलीमा चट्पटे बेच्ने गर्दछन् । व्यवसायबाट कमाएको पैसाले शाहले सिन्धुलीको कमलामाई नगरपालिका ४ नयाँबस्तीमा घर बनाउनुभएको छ । व्यवस्थित ठाउँ पाए ठेलामै व्यापार गर्ने सोच रहेको उहाँ सुनाउनुहुन्छ । “राम्रो ठाउँ पाए ठेलामै व्यापार गर्ने थिए । चोक तिर ठाउँ पाए ठेला राखेर चटपटे साथै अन्य सामान वेच्ने थिए ,” उहाँले भन्नुभयो ।