शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मूल्य घटेपछि बजारमा सुन ‘सोल्ड आउट’

मंगलवार , मंसिर ११, २०८१

काठमाडौँ,११ मंसिर – पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला साढे १८ हजार रूपैयाँले घटेको छ । मंगलबारको लागि एक तोला सुनको मूल्य एक लाख ४८ हजार सात सय रूपैयाँ पुगेको छ । नेपाल सरकारले सुनमा लगाएको भन्सार महसुल आधाले घटाएको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेपछि एकैपटक यति धेरै भाउ घटेको हो ।

करिब एक महिना अघि (कात्तिक १५ गते) स्थानीय बजारमा सुनको मूल्य एक लाख ७१ हजारसम्म पुगेको थियो । एक महिनाको अवधिमा नै १२ प्रतिशतले मूल्य घटेर डेढ लाखभन्दा तल झरेपछि पसलहरूमा उपभोक्ताको भिड देखिन थालेको छ ।

व्यवसायीहरूका अनुसार सोमबार र मंगलवार विशेषगरी न्युरोडका पसलहरूमा उपभोक्ताको घुइँचो देखिएको थियो । अन्य पसलहरूमा पनि सामान्य अवस्थामाभन्दा बढी माग आएको व्यवसायीहरूले बताएका छन् । “उपभोक्ताको चासो बढेको छ, लामो समय कारोबार नै नभएकोमा अब बढ्ने अपेक्षा गरेका छौं,”न्यूरोडका सुन चाँदी व्यवसायीले भने ।

न्युरोडका व्यवसायीले भने सोमवार र मंगलवार वार रम सुनको अर्डर समेत लिन नसकेको बताएका छन् । “मूल्य घटेपछि सुन किन्नेको घुँइचो नै लागेको छ । मेरो पसलमा मात्रै होइन न्युरोडका सबै पसलमा यस्तै अवस्था छ । तर, हामीसँग सुन नै छैन,” लामो समयदेखि न्युरोडमा सुनचाँदीको व्यवसाय गर्दै आउनु भएका तेजरत्न शाक्यले भन्नुभयो, “उपभोक्ताको घुइँचो बढेर के गर्नु हामीले त अर्डर नै लिन सकेका छैनौ ं। न हामीसँग सुन छ न त बैंकसँग ।”

नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यले पनि उपभोक्ताको चासो बढेको प्रतिक्रिया दिनुभयो । उहाँले काठमाडौंको बानेश्वरमा सुन पसल सञ्चालन गर्नु भएको छ ।

चालु वर्षको औसत दिनमा वैधानिक आयात भएको सुनको औसत कारोबार डेढदेखि दुई केजी भएकोमा सोमवार पसलहरूमा स्टक भएको करिब पाँच केजी सुनको कारोबार भएको हुन सक्ने आकलन गरिएको छ । नेपाल भारतमा सुनको मूल्यमा ठूलो अन्तर भएपछि वैधानिक आयात भएको सुनको कारोबार नगन्य मात्रै हुने गरेको व्यवसायीको गुनासो रहेको थियो ।

वैधानिक सुनको कारोबार नहुने तर खुला सीमानाको फाइदा उठाएर भारतीय बजारबाट सुनको कारोबार बढ्ने भएपछि सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयन गर्नको लागि आइतबार दिउँसो भन्सार विभागलाई निर्देशन दिइएको थियो भने व्यवसायीहरूलाई सर्कुलर गरिएको थियो।

जसको प्रभावले सोमबार मात्रै सुनको मूल्य करिब १६ हजार रूपैयाँले घटेको थियो । यसमाथि अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेपछि मंगलबार थप दुई हजार छ सय रूपैयाँले मूल्य घटेको छ ।

मूल्य घटे पनि व्यवसायीले सुन नभएको प्रतिक्रिया दिएका छन् । बिहेको सिजन आएकोले भोलिका दिनमा सुन बढ्न सक्ने आकलनका कारण पनि सर्वसाधारण तत्काल सुन किन्न खोजेका छन् । तर व्यावसायीले पनि सुन नपाएको प्रतिक्रिया दिएका छन् । “उपभोक्ताको माग बढेसँगै हामीले बैंकहरूसँग सुन माग गरेका छौं । अब ३÷४ दिनमा आउने छ,” संघका उपाध्यक्ष बज्रचार्यले भन्न भयो ।

नेपालमा सुनको वैधानिक आयात वाणिज्य बैंकहरूले मात्रै गर्ने गरेका छन् । पछिल्लो समय वाणिज्य बैंकहरूले गत कात्तिक १२ गते आयात गरेका थिए । उनीहरूले तिहारको धनतेरसलाई केन्द्रित गरेर ३२ केजी सुन आयात गरेका थिए ।

व्यवसायीहरूले त्यस दिन ५० केजी बढी सुन बिक्री भएको प्रतिक्रिया दिए पनि बैंकबाट भने एक केजी पनि सुन बिक्री भएको थिएन । त्यसपछिको एक महिनामा भने ३२ केजी सुन व्यवसायीहरूले खपत गरेको बैंकरहरूले बताएका छन् । व्यवसायीबाट सुनको माग नभएको कारण बैंकहरूले सुन आयात गरेका थिएनन् ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले अहिले बैंकमा सुन मौज्दात नरहेको बताउनुभयो । सोमबारबाट नै व्यवसायीहरूले सुनको माग गरेको उहाँले प्रतिक्रिया दिनुभयो । “व्यवसायीहरूले सोमवारबाट नै सुनको माग गर्नु भएको छ । हामी पेपर कलेक्सनको क्रममा छौ ,अब आयात गर्नुपर्ने हुन्छ,” शर्माले भन्नुभयो ।

वाणिज्य बैंकहरूले पालो गरेर सुन आयात गर्ने गरेका छन् । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा बैंकहरूले १३२ केजी मात्रै सुन आयात गरेका छन् । आर्थिक वर्ष २०८०/८१ कात्तिकसम्म भने एक हजार केजी सुन आयात भएको थियो ।

प्रतिक्रिया