शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सापकोटाले सिन्धुलीको दुनाटपरीलाई भारतसम्म चिनाए

सोमवार , मंसिर १०, २०८१

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–४ ढोडाखोलामा टंकप्रसाद सापकोटाले ९ वर्षदेखि सालको पातको दुनाटपरी उद्योग चलाउँदै आउनु भएको छ । वनमा त्यसै खेर गइरहेको सालको पातलाई दुनाटपरी बनाएर ७० वर्षको उमेरमा पनि पुग्दा सापकोटाले आम्दानी गरिरहनु भएको छ नै त्यसलाई काठमाडौं हुँदै भारतसम्म बजार विस्तारसमेत गर्नुभएको छ ।

१६ असार २०७१ ‘वरपीपल दुनाटपरी उद्योग’ सञ्चालन गर्नुभएका सापकोटलाई भूकम्प र कोरोना महामारीले असर नपु¥याएको होइन, तर हार मान्नुभएन । त्यसमाथि कोरोना महामारीले पनि असर पु¥यायो । त्यसबेला उद्योगमै लाखौं संख्यामा दुनाटपरी थुपारेर महामारीको त्रास हट्ने दिन गनेर बस्नुभयो ।

भूकम्प र कोरोना महामारी छलेर पनि सापकोटाले दुनाटपरी उद्योगलाई देशभर लगाएत भारत सम्म चिनाउन सक्नुभयो । २०७२ सालमै संघीय सरकारदेखि २०८१ मा बागमती प्रदेश सरकारबाट उत्कृष्ट उद्यमीको सम्मान पाउनु भएकाएका सापकोटसँग यसबीचमा पाएको पुरस्कार र सम्मानको लेखाजोखा नै छैन । “सम्मान र पुरस्कार त कति पाएँ, पाएँ । मलाई याद नै छैन,” उहाँ भन्नुहुन्छ ।

सापकोटलाई ९ वर्षअघि काठमाडौंको भृकृटीमण्डपमा आयोजित उद्यमी मेलामा संघीय सरकारको उद्योग मन्त्रालयले प्रथम भए बापत १० हजार पुरस्कार दिएको याद छ । त्यस दिनदेखि आफूलाई दुनाटपरी उत्पादनबाट वातावरणमा पुर्याउँदै आएको योगदानप्रति गर्व र काममा हौसला मिलेको उहाँको भनाइ छ । “पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुको अगाडि मञ्चमा उभिएर बोल्न पनि पाएको थिएँ”, उहाँले भन्नुभयो ।

सापकोटाले आइतबार १०औं उद्योग दिवसको अबसरमा बागमती सरकारको उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयबाट सिन्धुलीको उत्कृष्ट नवप्रवर्तन उद्यमी सम्मान पाउनु भएको छ । मुख्यमन्त्री बहादुरसिं लामा र उद्योगमन्त्री शुकमाया तामाङले नगद ४० हजारसहित वरपिपल दुनाटपरी उद्योगलाई उत्कृष्ट उद्यमी सम्मान प्रदान गर्नुभयो । सापकोटले उद्यमीहरुको तर्फबाट सम्बोधन गर्दै सरकारको हौसला सबै क्षेत्रमा आवश्यक रहेको बताउनुभयो ।

दुनाटपरी उद्योग चलाएसँगै सापकोट प्रशिक्षक पनि बन्नुभयो । पर्वतदेखि सिन्धुपाल्चोक, रामेछाप, उदयपुरसम्म गरि ११ जिल्लामा पुगेर आफूले प्रशिक्षण दिएको बताउँदै उहाँले सुरु गरेका अधिकांश व्यवसाय हालसम्म अस्तित्वमै नहुँदा चिन्ता व्यक्त गर्नुभयो ।

९ वर्षअघि सिन्धुली (मेडप–मेडपा) डी–मेगा नामक गैरसरकारी परियोजनाले गाउँमै ७ दिनसम्म दिएको तालिमपछि उद्योग स्थापना भएको उहाँले बताउनुभयो । परियोजनाबाटै तीन वटा मेसिन ५० प्रतिशतमा अनुदान पाएपछि उद्योगले काम थालेको थियो ।

स्थानीय अरुणभूमि सामुदायिक वनमा महिलाहरुलाई पारिश्रमिक दिएर सालको पात संकलनसँगै चार किमिसको दुनाटपरी उत्पादन थालिएको सापकोटाले बताउनुभयो । दुनाटपरी बनेपाको होलसेल पसलमामा नियमित पठाइने उहाँले बताउनुभयो । सालको पात प्रयोग गरेवापत अरुणभूमि सामुदायिक वनलाई वार्षिक २ हजार रोयल्टी बुझाउँदै आएको उहाँले सुनाउनुभयो ।

उद्योगमा अहिले ५ जनालाई रोजगारी पनि दिनु भएको छ । “उहिरुले दुनाटपरीको संख्याअनुसार ज्याला पाउँदै आएका छन् । वनमा सालको पात टिप्न १० देखि ७० जनासम्म महिला परिचालन गरिँदै आएकोछु । १ सय वटा पातको डेढ सय रुपैयाँ उनीहरुले पाउने छन् ,”उहाँले भन्नुभयो ।

उहाँको उद्योगमा भोजको प्लेट टपरी, खाजा प्लेट टपरी, मःम कचौराको प्लेट दुना र अचारको सानो प्लेट दुना गरी चार किसिमको दुनाटपरी बन्ने गरेको छ । उत्पादित दुनाटपरी लिएर आफैं बिक्रीका लागि हिँड्ने गरेको उहाँले बताउनुभयो । काठमाडौं, भक्तपुर, सिन्धुलीको मःम पसलदेखि काँकडभिट्टासम्म प्रतिगोटा १ देखि ३ रुपैयाँमा दुनाटपरी बिक्री गर्दैै आएको उहाँले बताउनुभयो ।

पछिल्लो पटक उहाँले भारतको जयनगरसम्म दुनाटपरी पठाउनु भएको छ । “मैले यताबाट भारतको जयनगरमा अलि अगाडि मात्रै दुनाटपरी पठाएको छु । गाडीमा हाल्दिएपछि फोन गरेर भन्दिने हो । पैसा खातामा आउँछ”, उहाँले भन्नुभयो, “उनीहरुले फेरि पठाउन भनिरहेक छन् । मैले माग भएअनुसार उत्पादन नै गर्न सकिनँ ।”

संघीय उद्योग मन्त्रालयकै पहलमा उहाँ ९ वर्षअघि भारतको जयनगर, नयाँदिल्ली, आग्रालगायतका सहर भ्रमण गर्ने मौका पाउनु भएको थियो । त्यही भ्रमणको अनुभवले टपरी जयनगरसम्म पु¥याउन सकेको सपकोटाले बताउनुभयो । भारतको अन्य सहरमा पनि दुनाटपरी पठाउनेबारे सल्लाह गरिरहेको उहाँको भनाइ छ ।

दुनाटपरीको खपत नेपालमा धेरै रहेको उहाँले बताउनुभयो । धेरै नेवारी समुदायले प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । माग भएअनुसार उत्पादन गर्न नसकेकोमा उहाँलाई चिन्ता छ । दुनाटपरी उद्योगसँगै मसला उद्योग, धान कुट्ने मिल र कृषिपशुपालनमा नियमित सक्रिय सापकोटालार्ई दुनाटपरी उत्पादन गर्न भ्यानभ्याई छ ।

वार्षिक २ देखि ३ लाखगोटा दुनाटपरी उत्पादन हुने गरेको छ । उत्पादन कम भएकाले आम्दानी पनि धेरै नभएको उहाँले सुनाउनुभयो । १ लाखको दुनाटपरी बिक्री गर्दा ४० हजार रुपैयाँ खुद नाफा बस्ने गरेको सापकोटाले बताउनुभयो । “खेर गइरहेको सालको पात लाई सदुपयोग गर्न सकियो । अब सरकारले प्लास्टिक प्रयोगमा निषेध लगाउनुपर्छ । यसले वातावरणलाई पनि फाइदा पुग्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया